गृहपृष्ठ वीरगञ्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धि
वीरगञ्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धि
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि जेठसम्ममा वीरगञ्ज नाका प्रयोग गरी ७४ अर्ब ३४ करोड ६६ लाख मूल्य बराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजेल, पेट्रोल, मट्टितेल हवाई इन्धन आयात भएको थियो । चालु आव २०७८÷७९ को सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि रु एक खर्ब ५३ अर्ब ३६ करोड ७ लाख मूल्यको २५ लाख ३१ हजार ६६० किलो लिटर इन्धन आयात भएको छ । यो गत आवभन्दा ७८.५१ प्रतिशत बढी इन्धन आयात हो ।
त्यस्तै, वीरगञ्ज नाकाबाट हुने खाना पकाउने एलपीजी ग्याँसको आयातमा समेत करिब ८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा २ लाख ३९ हजार ६३८ मेट्रिक टन ग्यास आयात भएकोमा चालु आवको सोही समयमा १८ हजार ५०० मेट्रिक टन बढी आर्थत २ लाख ५८ हजार १५० मेट्रिक टन बढी आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने ग्यासको आयात बढे पनि मट्टितेलको आयात ३० प्रतिशतले घटेको छ । गत आवमा ११ हजार दुईसय २० किलोलिटर इन्धन आयात भएकोमा चालु आवमा ३ हजार ३ सय ६० किलोलिटर कम अर्थात सात हजार ८६० किलोलिटर आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
उनले वीरगन्ज नाकाबाट भित्रिएका डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन र खाना पकाउने ग्यासबाट गत आवभन्दा चालु आवमा करिब ३४ प्रतिशत बढी राजस्व संकलन भएको बताए । गत आवमा ५४ अर्ब ५३ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन भएकोमा चालु आवमा १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात् ७२ अर्ब ८२ करोड २६ लाख रुपैयाँ संकलन भएको बताए । नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धन र ८५ प्रतिशत खाना पकाउने एलपी ग्यास वीरगञ्ज नाकाबाटै हुने गरेको छ ।
प्रकाशित समय : १८:५० बजे