गृहपृष्ठ अलकत्रा बोकेको ट्यांकरमा आगलागी
अलकत्रा बोकेको ट्यांकरमा आगलागी
कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्यांकरमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका-१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्यांकरमा एक्कासी आगलागी हुँदा ट्यांकर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर लालबहादुर बमले जानकारी दिए ।
ना४ख ७८८८ नम्बरको उक्त ट्यांकर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिए ।
उक्त घटनामा ट्यांकरको पछाडि रहेका सहचालक निर्बल चौधरी (थारू) घाइते भएको र उनको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
दमकलको सहायताले आगो निभाइएकाले थप क्षति भने हुन पाएन । समयमै ट्यांकरमा लागेको आगो दमकलको सहायताले निभाउँदा ठूलो क्षति हुनबाट जोगिएको छ । नजिकैका घरहरू आगलागी हुनबाट जोगिएका छन् ।
प्रकाशित समय : १३:३८ बजे




















