गृहपृष्ठ नाडा अटो शो : ४ दिनका लागि खुल्ला गरिएको बुकिङ दुई दिनमै ‘प्याक’
नाडा अटो शो : ४ दिनका लागि खुल्ला गरिएको बुकिङ दुई दिनमै ‘प्याक’
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ७ देखि १२ गतेसम्म आयोजना गर्न लागेको ‘नाडा अटो शो २०२२’ को स्टल बुकिङमा उल्लेखनीय सहभागिता भएको छ । नाडाका अनुसार चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेसनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरु दर्ता भएका हुन् ।
बिहीबार गरिएको गोला प्रथाअन्तर्गत सबै कम्पनीहरुका प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा कार्यसमिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँट गरिएको नाडाले जनाएको छ।
विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमर्सियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको नाडाले जनाएको छ ।
‘कोभिड महामारीका कारण दुई वर्षपछि आयोजना गर्न लागिएको प्रदर्शनीमा अटो व्यवसायीहरुको भव्य सहभागिताले आयोजक नाडा प्रोत्साहित हुनुका साथै सुस्ताई रहेको अटो व्यवसाय चलायमान हुनेमा पनि विश्वस्त देखिएकाे छ ।' जारी विज्ञप्तिमा भनिएकाे छ ।
नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणका लागि समेत शाे अपरिहार्य रहेको छ ।
अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ्याक्चरिङ कम्पनीहरुका विज्ञ एवं जानकारसँगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनि सभापति बरालको भनाइ छ ।

प्रकाशित समय : १७:०२ बजे



















