गृहपृष्ठ महिला उद्यमीहरुबाट उद्योग मन्त्रालयमा सुुझाव पेश
महिला उद्यमीहरुबाट उद्योग मन्त्रालयमा सुुझाव पेश
नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुुझाव पेश गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधवार मन्त्रालयमा भेटी उक्त सुुझाव पेश गरेको हो । सातैवटा प्रदेशका महिला उद्यमी व्यवसायीहरु र महिला उद्यमी समितिबाट विभिन्न मितिमा सञ्चालित कार्यक्रमहरुबाट आएका सुझावहरुलाई समेटी उक्त सुुझाव तयार पारिएको हो ।
महासंघबाट पेश गरिएको सुुझावमा मुख्यतया सहुलियतपूर्ण कर्जा, सूचनाको पहुँच, पुनर्कर्जा, परियोजना कर्जा, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम, दर्ता नगरी सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरुलाई दर्ता प्रक्रियामा लैजाने, वस्तु वजारीकरण लगायतका विषयहरु समेटिएका छन् ।
भेटवार्ताका क्रममा उद्योग सचिव पोखरेलले महिला उद्यमीहरुका लागि व्यावसायिक महत्वका व्यक्ति (Commercial Important Person-CIP) कार्यक्रम ल्याउने, व्यापार मेलामा महिला उद्यमीहलाई प्राथमिकता दिने, वित्तीय साक्षरता, सूचनाको पहुँच लगायतका अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरुका लागि महिला उद्यमीहरुसँग सहकार्य गर्दै जाने प्रतिवद्धता पनि जनाए ।
सचिव पोखरेलले कृषि क्षेत्रको प्रवर्द्धनका लागि खेतदेखि उद्योगसम्मको अवधारणा ल्याएको र यसको डिजाइन गर्दा महासंघसँग सहकार्य गर्ने पनि बताए । यसैगरी स्वदेशी वस्तुको प्रयोगका लागि गुणस्तर र मूल्यमा ध्यान दिन आग्रह गर्दै उत्पादित वस्तुको ब्राण्ड स्थापित गर्न समेत सल्लाह दिए ।
बुधबार नै महासंघको महिला उद्यमी टोलीले वाणिज्य सचिव डा. गणेश प्रसाद पाण्डेयसँग पनि भेट गरी सुझाव पेश गरेको छ । भेटघाटको क्रममा सचिव पाण्डेयले प्राप्त सुझावहरु बारेमा अध्ययन गरी आफ्नो कार्यक्षेत्रमा परेका सुझावहरु कार्यान्वयमा जोड दिने विश्वास दिलाए । महासंघको महिला उद्यमी विकास समितिका सभापति रीता सिंहको नेतृत्वमा समितिका ७ सदस्यीय टोलीले भेटवार्ता गरेको थियो ।
प्रकाशित समय : ०१:१० बजे
















