nmb bank

गृहपृष्ठ नेपालमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह

नेपालमा लगानी गर्न जापानलाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानसँग आग्रह गरेका हुन् ।

‘वैदेशिक लगानीको सुरक्षाका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरेको छ, आगामी वर्षको बजेटमा सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानको लगानी सुरक्षाका लागि हामी प्रतिबद्ध छौँ,’ अध्यक्ष मल्लले भने ।

 उनले जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रुपमा बढी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूतसमक्ष आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूतसमक्ष आग्रह गरे ।

‘नेपाल र जापानबीचको कूटनीतिकसम्बन्ध स्थापना भएको ६६ वर्ष पूरा भएको छ, जापानले जाइकालगायत आफ्ना विभिन्न दातृ निकायमार्फत् नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ, दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ, यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ,’ उनले भने ।

अध्यक्ष मल्लले सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउँदै नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूतसँग आग्रह गरे । 

भेटमा राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको बताए । 

‘दुई देशबीचको सम्बन्ध बलियो छ, यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौँ,’ राजदूत युताकाले भने । उनले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धतासमेत व्यक्त गरे । 

राजदूतले नेपाल सरकारलाई जापान सरकारको तर्फबाट र आफ्ना दातृ निकायमार्फत् लामो समयदेखि सहयोग हुँदै आएको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोग जारी रहने बताए । 

प्रकाशित समय : २१:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु