गृहपृष्ठ रेनुका दुई निर्णय : मासिक ७ हजार लिटर पानी निःशुल्क, छोरी जन्मिनेवित्तिकै १ लाखको बिमा
रेनुका दुई निर्णय : मासिक ७ हजार लिटर पानी निःशुल्क, छोरी जन्मिनेवित्तिकै १ लाखको बिमा

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले महानगरबासीलाई ७ हजार लिटर खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेकी छिन् । पहिलोपटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरंग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिइन् ।
दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताइन् । दाहालको निर्णयपछि महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले बुधबारदेखि नै निःशुल्क खानेपानी पाउने भएका छन् । यसका लागि वार्षिक २ करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ । महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत् खानेपानी वितरण गरिँदै आएको छ । बोर्डका उपभोक्ता ३५ हजार छन् ।
दाहालले बुधबार गरेको दोस्रो निर्णयमा स्थायी बसोबास गर्नेहरूबाट जन्मिएका छोरीका लागि १ लाखको जीवन बिमा गरिने भएको छ । पहिलो वर्ष १ हजार ७५० जनाको बिमा गर्ने लक्ष्यसहित सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्रदान गर्न थालिएको हो ।
राष्ट्रिय बिमा संस्थानमार्फत् बिमा गर्न लागिएको हो । एक जनालाई वार्षिक ३ हजार ३०० महानगरपालिकाले १५ वर्षका लागि बुझाउने छ । पन्ध्र वर्षपछि ती छोरीले १ लाख पाउने गरी बिमा गर्न लागिएको हो ।
प्रकाशित समय : १७:०८ बजे