गृहपृष्ठ विजयलाई हराउँदै भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी
विजयलाई हराउँदै भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।
दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेकाे प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ ।
यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे । दाहाल २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन् ।
२०३३ असार २३ गते भरतपुर महानगरपालिका-१४ भीमसेन नगरमा जन्मिएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन् । नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा बोल्न जान्ने दाहाल २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य हुन् ।
हाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव, २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य, २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरिसकेकी छिन् । यस्तै २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौँ सेक्रेटरी, अखिल भारत नेपाली महिला संगठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक काममा सक्रिय रहेकी थिइन् ।
भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरे । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरे । अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति हुन् । २०२४ मा जन्मिएका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट सुरु भएको हो ।
२०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उनको राजनीतिकयात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखसम्म पुगेकाे छ । २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहेका थिए । २०४६ को आन्दोलनमा गिरफ्तारीदेखि २०६२/६३ मा सक्रिय सहभागिता जनाएका नेता अधिकारी २०५४ मा साविक पार्वतीपुरमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचत भएका थिए ।
यस महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो । २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ ।
वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन् ।
प्रकाशित समय : १५:१० बजे