गृहपृष्ठ स्थानीय सरकारमा आजदेखि नयाँ जनप्रतिनिधि, तर मतगणना नै सकिएन !
स्थानीय सरकारमा आजदेखि नयाँ जनप्रतिनिधि, तर मतगणना नै सकिएन !

स्थानीय तहका नयाँ जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल शुक्रबार सुरु हुँदै छ । ०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीबार मध्यरातदेखि सकिएको हो । निर्वाचनको अन्तिम मतपरिणाम आउन बाँकी भए पनि ७ सय ५३ पालिकाकै कार्यकाल शुक्रबार सुरु भएको मानिने निर्वाचन आयोगले जनाएको छ ।
शुक्रबार बिहान सात बजेसम्म ६२४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । बाँकी रहेका १२९ पालिकाको परिणाम सार्वजनिक हुन अझै केही दिन लाग्नेछ ।
आयोगका अनुसार अब अछामको साफेबगर-१३ राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको निर्वाचन शुक्रबार हुँदै छ । बाजुराको बुढीगंगा र उदयपुरको त्रियुगा नगरपालिकामा पुनः निर्वाचनको उजुरी परेपछि आयोगले निर्णय लिन सकेको छैन । निर्वाचन भएकामध्ये बिहीबार रातिसम्म ६०१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।
‘स्थानीय तहमा जनप्रतिनिधि रिक्त नहोस् भनेर सरकारले कार्यकाल सकिनुअघि नै निर्वाचन घोषणा गरेको थियो । आयोगले निर्वाचन गरेर नतिजा समेत सार्वजनिक गरिसक्यो,’ प्रमुख निर्वार्चन आयुक्त दिनेश थपलियाले भने, ‘कार्यकालको गणना शुक्रबारदेखि लागू हुने गरी सात दिनभित्र सपथ ग्रहण गराइसक्न मुख्य निर्वाचन अधिकृतलाई अनुरोध गरिसकेका छौ ।’
जेठ ५ लाई स्थानीय तहका जनप्रतिनिधिको पदमा बहाल रहने अन्तिम मिति मानेर वैशाख ३० मै निर्वाचन गरिएको थपलियाले बताए । वैशाख ३० यता निर्वाचन भएको पालिकामा पनि चार दिनभित्र मत गणना सम्पन्न गर्न आयोगले निर्देशन दिएको छ । निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिका अध्यक्ष, नगर प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनियताको शपथ लिनुपर्ने हुन्छ ।
अध्यक्ष वा प्रमुखले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाअध्यक्ष, गाउँ तथा नगरसभाका सदस्यले सपथ लिनुपर्ने कानुनी व्यवस्था छ ।
प्रकाशित समय : १३:२० बजे