गृहपृष्ठ ‘दरबारमार्ग महोत्सव’मा एनसेलको सहकार्य
‘दरबारमार्ग महोत्सव’मा एनसेलको सहकार्य

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिबार दरबारमार्गमा आयोजना हुन गइरहेको १५औँ दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएकाे छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकका अनुसार आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ ।
सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको औपचारिक सुरूआत शनिबार बिहान ११ः४५ बजे हुने छ । गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहसहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ । चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किडस् जोन महोत्सवको विशेष आकर्षणहरु हुन् ।
महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधालगायत अन्य कलाकार तथा समूहहरु जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ-आफ्ना प्रस्तुति दिनेछन् । साथै मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टि केसी र कमेडियन भरतमणि पौडेल एण्ड सुमन कोइरालाको प्रस्तुति रहनेछ । महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु पनि प्रदर्शनीमा राखिनेछन् । त्यसैगरी महोत्सवमा महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रर्दशनीमा रहने छन् । महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् ।
दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । साथै सातै प्रदेशबाट विभिन्न जात जातिको सांस्कृतिक नृत्यहरु दरबारमार्ग आसपासका सडकमा प्रस्तुति गरिने छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ । हाल ९० प्रतिशत बढी जनसंख्याले कोभिड विरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ ।
महोत्सवको सह-प्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्ट्याग रहेका छन् । महोत्सवको बैकिङ पाटर्नरमा एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेसनल लाइफ इन्सुरेन्स, बेभरेज पाटर्नरमा डाबर नेपाल, अन्य सहयोगी पाटर्नरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन पे, एनडीज आइसक्रिम, नेपाल डेरी रहेका छन् ।
कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुको छ ।
प्रकाशित समय : १३:४७ बजे