गृहपृष्ठ ‘चर्का नारा, गहकिला आश्वासन र अर्थहीन परिवर्तनले नेपालीलाई शान्त र सन्तुष्ट पार्न सकेन’
‘चर्का नारा, गहकिला आश्वासन र अर्थहीन परिवर्तनले नेपालीलाई शान्त र सन्तुष्ट पार्न सकेन’
पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अस्मितामा कुनै प्रभाव पर्न सक्नेप्रति नेपालीहरु सधैं चनाखो हुनुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै उनले छिमेक नीतिका कारण मुलुकको अस्मितामा असर पर्न सक्ने भन्दै त्यसतर्फ चनाखो हुनुपर्ने बताएका हुन् ।
‘छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्बन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो हुनुपर्छ’ उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् । नेपाल कोहीसँग टाँसिएर कसैप्रति दूरभाव राख्ने मार्गमा लाग्यो कि भन्ने चिन्ता बढेको भन्दै पूर्वराजा शाहले त्यो आफैंमा आत्महीनताको विषय भएको बताए ।
उनले अर्थविद् र उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थतन्त्रमा समस्या उत्पन्न भएकामा चिन्ता गरिरहेको भन्दै महँगी र आर्थिक बोझले नेपालीको गुजारा कठिन बनेको बताएका छन् । ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले भनेका छन्, ‘तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रक्रियाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।’ उनले नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गरेका छन् ।
विज्ञप्ति :
.jpg)
प्रकाशित समय : ००:१८ बजे


















