गृहपृष्ठ अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय
अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आइतबार बसेको संघकाे बैठकले अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो ।
संघका कार्य समिति सदस्य तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आज बसेको बैठकले गाडी, सुनचाँदीसहित अत्यावश्यक बाहेकका वस्तुको एलसी तत्काल नखोल्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार संघले सो निर्णय गरेको हो । संघले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत्प्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो । यस्तैगरी, गत सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर गाडी लगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन् ।
प्रकाशित समय : ०१:५६ बजे


















