global ime bank Long Banner Ad

गृहपृष्ठ सेयर बजारमा विविध खालको समस्या छन्, नयाँ नेतृत्वले समाधान गर्नुपर्छ : अर्थमन्त्री शर्मा

सेयर बजारमा विविध खालको समस्या छन्, नयाँ नेतृत्वले समाधान गर्नुपर्छ : अर्थमन्त्री शर्मा

सेयर बजारमा विविध खालको समस्या छन्, नयाँ नेतृत्वले समाधान गर्नुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा विविध खालको समस्या रहेको बताएका छन् । ग्लोबल मनी विकको अवसरमा धितोपत्र बोर्डले आयोजना गरेको वित्तीय साक्षरता र्‍यालीको समापन सत्रमा मन्त्री शर्माले बजारमा समस्या रहेकोले अबको नयाँ नेतृत्वले बजारका समस्याको समाधान गर्नु पर्ने बताएका हुन् । उनले धितोपत्र बजारमा विविध खालको समस्या रहेको बताउँदै उक्त समस्याहरूको समाधान गर्दै बजारको गुणात्मक विकास तथा विस्तारको लागि नयाँ नेतृत्व पठाएको र उनीहरूलाई निर्देशन समेत दिएको स्मरण गरे। यसका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्दता समेत व्यक्त गरे ।

उनले हालको नयाँ नेतृत्वले नयाँ प्रतिबद्दता सहित नयाँ संरचना तथा योजनासहित बजारको विकास तथा विस्तारका लागि कार्य गर्नुपर्ने र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउनुका साथै बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई निर्देशन समेत दिए । वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरू लाग्ने हुँदा सर्वसाधारणलाई बुद्दिमतापूर्वक निर्णय लिन सक्षम बनाउन साक्षरता सम्बन्धी कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्न समेत निर्देशन दिए ।

उनले ग्लोबल मनी विक अन्तर्गत सञ्चालन भएका यस्ता कार्यक्रमले लगानीको सुरक्षा तथा वित्तीय क्षेत्रको जानकारी हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको हुँदा यस अभियानका आयोजक तथा सञ्चालक र सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिएका छन् । उनले वित्त परिचालन गर्ने संस्थाहरूले यस्तो कार्यक्रमहरू तल्लो जनसमूदायसमेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको बताउँदै यस क्षेत्रको बारेमा सर्वसाधारणलाई बुझाउन आवश्यक रहेको धारणा राखे ।

मन्त्री शर्माले ग्लोबल मनी विकको अवसर पारेर नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससि, रेटिङ एजेन्सी तथा मर्चेन्ट बैंकर्स एशोसियसनले प्रकाशन गरेका वित्तीय साक्षरता तथा धितोपत्र बजारसम्बन्धी जानकारीमूलक पूस्तिकाहरूको समेत विमोचन गरेका छन् ।

कार्यक्रममा बोर्ड अध्यक्ष रमेश कुमार हमालले वित्तीय साक्षरता अभिवृद्धि गर्ने यस कार्यक्रममा उल्लेख्य सहभागिता देखाउने सबै पक्षलाई धन्यवाद दिएका छन् । यसले बोर्डलाई लगानीकर्ताको हक हित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको बताउँदै यस कार्यमा बोर्ड प्रतिवद्द रहेको समेत जनाए ।

किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले मार्च २१ देखि २७, २०२२ सम्म विश्व वित्तीय सप्ताह (Global Money Week-2022) अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा उक्त सप्ताहको अन्तिम दिन बोर्डले वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल स्टक एक्सचेञ्ज लि., सिडिएस एण्ड क्लियरीङ लि., रेटिङ संस्थाहरू, स्टक ब्रोकर एशोसियसन अफ नेपाल र मर्चेन्ट बैकंर्स एशोसियसन अफ नेपाल, नेशनल बैकिङ इन्स्टिच्यूट र सम्बद्ध संस्थाहरूको सहभागिता रहेको थियो ।

भद्रकालीबाट शुरू भै भृकुटीमण्डपमा समापन भएको उक्त र्याली धितोपत्र बजार सम्बद्ध पक्ष, बीमा तथा सहकारीसम्बद्ध पक्ष र बैंक वित्तीय संस्थाका पदाधिकारी तथा कर्मचारी गरी ३ हजार भन्दा बढी जनाको सहभागिता रहेको बोर्डले जनाएको छ ।

प्रकाशित समय : १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु