गृहपृष्ठ नेपालविरुद्ध पपुवा न्युगिनीको क्लिन स्विप
नेपालविरुद्ध पपुवा न्युगिनीको क्लिन स्विप
नेपालले पपुवा न्युगिनी (पीएनजी)सँगको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा लगातार दोश्रो हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न दोश्रो श्रृंखलामा नेपाल पीएनजीसँग ३ विकेटले पराजित भएको हो ।
यसअघि शुक्रबार भएको पहिलो श्रृंखलामा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो । यससँगै नेपालविरुद्ध दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा पीएनजीले क्लिन स्विप गरेको छ । पीएनजीले श्रृंखला २-० ले आफ्नो पक्षमा पारेको हो ।
आजको खेलमा टस जितेर ब्याटिङ गर्दे नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २७९ रनको योगफल तयार पारेको थियो । नेपालको इनिङमा दिपेन्द्रसिंह ऐरीले शानदार पारी खेल्दै शतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले १४० बलमा ७ चौकाको मद्दतमा १०५ रनको शतकीय पारी खेले । दिपेन्द्रको यो एकदिवसीय करियरको पहिलो शतक हो भने शतक बनाउने तेस्राे नेपाली क्रिकेटर हुन् ।
यसबाहेक दोश्रो एकदिवसीय खेलेका देव खनालले ८६ बलमा चार चौका र ३ छक्काको मद्दतमा ७२ रनको योगदान दिए । यस्तै रोहितकुमार पौडेलले आज ३५ रन बनाए । पीएनजीका लागि बलिङमा अलेइ नाओ र नोर्मान भनुआले २-२ तथा चाड सोपर र चार्ल्स अमिनीले एक/एक विकेट लिए ।
लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर २८३ रन बनायो । पीएनजीको जितमा लेगा सिअकाले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ खेल्दा रिले हेकुरे रनमा अविजित रहे भने सेसे बाउले ३८ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि सोमपाल कामीले तीन विकेट हात पार्दा पवन सराफले दुई तथा आरिफ शेख र कप्तान सन्दीप लामिछानेले एक/एक विकेट लिए ।
अब नेपाल, मलेसिया र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टि२० आइ सिरिज हुनेछ । नेपालले सोमबार पपुवा न्युगिनीसँग खेल्नेछ ।
प्रकाशित समय : २३:२६ बजे



















