गृहपृष्ठ प्रचण्ड-माधवसँग अहिले नै एकताको स्थिति बनेको छैन
प्रचण्ड-माधवसँग अहिले नै एकताको स्थिति बनेको छैन
स्थानीय तहको निर्वाचन मुखमै रहेका बेला सत्ता गठबन्धनबीच चुनावी तालमेलबारे कुरा मिलेको छैन । यतिनै बेला कम्युनिष्टहरुबीच वाम तालमेल, गठबन्धन र एकताको सम्भावनामाथि खेल्न थालिएको छ । सत्ता गठबन्धनमा आवद्ध वाम घटकहरु मिलेसम्म कांग्रेससँग चुनाव तालमेल, नमिले एमाले सहितको वाम एकता गर्न खोजिरहेका छन् । नेकपा एमालेको पोलिटब्युरो बैठकमा वाम एकताबारे प्रस्ताव नै राखियो । तर एमाले अध्यक्ष केपी शर्मा ओली अहिले नै एकता स्वीकार्ने पक्षमा छैनन् । फेरि कम्युनिष्टहरुबीच एकता खोजिरहेको चीनबाट यति नै बेला उच्चस्तरीय भ्रमण हुँदैछ । वाम एकतादेखि स्थानीय तहको निर्वाचनसम्मका विषयमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग न्युजकारोबार डटकमका लागि सन्तोष विके थापाको कुराकानी :
तपाईँको पार्टीको पोलिटब्युरो बैठकमा नेता घनश्याम भुसाल र रघुजी पन्तले वाम एकताबारेको प्रस्ताव राख्नुभयो । दुईतिर फर्किएका वामहरुलाई निर्वाचनको मुखमै आएर एक बनाउन खोजिएको हो ?
होइन, त्यसबारे त पार्टीले निर्णय गर्ने हो । व्यक्तिगत विचार कसको के छ भन्ने कुरा महत्वपूर्ण भएन । धेरै विचारहरु छन्, आउँछन् । सम्भावना पनि धेरै छन् । त्यसबारेमा पार्टी एउटा निष्कर्षमा पुग्छ ।
अध्यक्ष केपी शर्मा ओलीले वाम पार्टीहरुबीच एकताको सम्भावना रहेको तर प्रचण्ड र माधवकुमार नेपाललाई 'साथ दिएर वा हात दिएर हिँड्न सकिन्न' भन्नु भएको छ । अध्यक्षले भनिसकेपछि एमालेको धारणा त्यही त होला ?
अहिले हामी कुनै संस्थागत निर्णयमा पुगेका छैनौं ।
भनेको, प्रचण्ड-माधवलाई तपाईँहरुले वामपंक्ति नभएको नजरमा हेर्न थाल्नु भएको हो ?
होइन, हामीले हेर्ने/नहेर्नेभन्दा उहाँहरुको आचरण र राजनीतिक व्यवहारले देखाउने कुरा हो ।
यति नै बेला चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउँदै छन् । नेपालका कम्युनिष्टहरुलाई मिलाउन चीन निरन्तर लागिपरेको छ । यो भ्रमणले कस्तो अर्थ राख्छ ?
हामी यस्तो पार्टी हौं, जुन पार्टी हुनुमा हामीलाई गर्व छ । हाम्रो प्रष्ट मान्यता के हो भने, हामीलाई अमेरिका, भारत वा चीन सबैसँग राम्रो मित्रता राख्नु छ । चीनबाट हुने भ्रमण र उहाँहरुबाट हुने आग्रहसँग हामी सम्बन्धित हुँदैनौं । हाम्रो निर्णय हामी आफैँ गर्छाैं ।
तपाईँले यसो भनिरहँदा चीनसँग निरन्तर दबाब र प्रभावमा रहेको सार्वजनिक रुपमै चर्चा हुने गरेको छ । विभाजित कम्युनिष्टलाई मिलाउन चीनले गरेको दुःखलाई बुझेर पनि तपाईँहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आउने हो कि ?
यो हाम्रो आन्तरिक मामिला हो । बाहिर जुन हिसाबले चर्चा र विश्लेषण भइरहेको छ त्यो ठिक नहुन पनि सक्छ । सकेसम्म हामी आन्तरिक रुपमै निर्णय गर्छाैं ।
तपाईँ चाहिँ के सम्भावना देख्नुहुन्छ ? वाम पार्टी त्यसमा पनि ओली, प्रचण्ड र माधवबीचको दुरी जुन हिसाबले चिरिएको छ, यो तिक्ततापूर्णले सम्बन्धले वाम एकतालाई कति नजिक वा टाढा पुर्याउला ?
राजनीतिक दलहरुको बीचमा अहिले एकदम धेरै विवाद देखिएको छ । तपाईँले भनेकै शब्द प्रयोग गर्ने हो भने, निकै तिक्ततापूर्ण सम्बन्ध छ । यो सधैं नरहनेमा विवाद छैन । हामीले बनाएको संविधानले दलहरुबीचमा समझदारीको माग गर्दछ । तर त्यो समझदारी मूल्य र मान्यताका आधारमा हुनुपर्छ । हामीले अवलम्बन गरेको संसदीय प्रणालीले पनि हामी एउटा गठबन्धनमा जानैपर्ने हुनसक्छ । तर दलहरुका बीचमा अहिले नै त्यस्तो स्थिति देखिएको छैन ।
यसको मतलब प्रचण्ड-माधवसँग अहिले नै एकता हुँदैन भन्ने अध्यक्षकै लाइनमा एमाले छ ?
समय लाग्न सक्छ । प्रचण्ड-माधवसँग अहिले नै एकताको स्थिति बनेको छैन । तर कुनै न कुनै दिन एक ठाउँमा उभिनै पर्छ । त्यसरी उभिँदा मूल्य र मान्यताका आधारमा उभिने हाे ।
वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुँदैछ । सरकारले मिति तोकेर निर्वाचन आयोग घनीभूत तयारीमा छ । राजनीतिक दलहरु चुनाव केन्द्रित बनिसके । तर तपाईँको पार्टीका अध्यक्षले नै निर्वाचन सार्न कलात्मक षड्यन्त्र भइरहेको आरोप लगाउनुभयो । अहिले पनि निर्वाचनप्रति तपाईँहरुको आशंका हो ?
हामी यो निर्वाचन संविधान, कानुन र स्थापित अभ्यासबमोजिम समयमा सम्पन्न हुनुपर्छ भन्ने पक्षमा छौं । सबैले देखिरहेको कुरा सत्तामा भएका केही साथीहरू यसको विपक्षमा थिए । तर तपाईँ हामी सबैको बलले वैशाख ३० मा निर्वाचनको मिति तोकिएको छ । अहिले पुनः ‘यो वा त्यो’ बहानामा उहाँहरु यसलाई पछि धकेल्न लागिरहेकै देखिएको छ । हामीले प्रतिनिधिसभा विघटन गर्दा प्रतिगमन भनेका साथीहरु नै अहिले संघ र प्रदेशको निर्वाचन पहिला गरौं भनेर लाग्नु भएको छ । यी सबै कुराहरुले निर्वाचनलाई प्रभावित पार्ने काम गरिरहेको छ । त्यसैले हामीलाई आशंका हुनु अचम्मको कुरा होइन ।
निर्वाचन सार्ने अवस्था आए एमालेको भूमिका के हुन्छ ?
हाम्रो आशंका ठोस आधारमा उभिएको छ । सत्तामा हुने साथीहरूले पटकपटक बोलेका कुराहरुले पनि त्यसको संकेत गर्दछ । तर अब दिन बित्दै जाँदा उहाँहरुको प्रयास पनि असफल हुँदै जानेछ ।
प्रकाशित समय : १७:५० बजे


















