गृहपृष्ठ एनआरएनएको विवाद समाधानतर्फ

एनआरएनएको विवाद समाधानतर्फ

एनआरएनएको विवाद समाधानतर्फ

गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवादका कारण दुई पक्षले अलगअलग महाधिवेशनको घोषणा गरिसकेको अवस्थामा पनि सहमति कायम भई संस्थालाई विघटन हुनबाट रोकिएको छ ।

अध्यक्षका प्रत्यासी कूल आचार्य र बद्री केसीका साथै रविना थापाबीच नेतृत्वको विषयमा सहमति भएको थियो । एनआरएनएको १०औँ विश्व सम्मेलन यही चैत १० र ११ गते चुनावी प्रक्रिया टुंगिएपछि हुनेछ । संस्थाका पूर्वअध्यक्ष र विभिन्न पदाधिकारीहरुको प्रयासमा दुवै पक्षबीच सहमति कायम भएपछि आज संयुक्त पत्रकार सम्मेलन गरी एनआरएनएको विवाद मिलेको र सबै एकताबद्ध भएर अघि बढिने बताएका छन् ।

तीनै जनाले संस्थालाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाए । एनआरएनएभित्र सहमतिअनुसार संस्थामा दुई अध्यक्षको व्यवस्था गर्ने समझदारी भएको सो अवसरमा जानकारी दिइयो । सो अवसरमा अध्यक्षका उम्मेदवार आचार्यले एनआरएनए सबैको साझा आस्था, विश्वास र अभियान भएकाले यसलाई निरन्तरता दिन सहमतिको विकल्प नभएको बताउँदै संस्थाको इतिहासको १८ वर्षपछिको विषम परिस्थितिको विषयमा गम्भीर छलफल भई एउटा निचोडमा पुगिएको बताए । उनले संस्थालाई सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने सार्वजनिक संकल्प गर्न आवश्यक भएको उल्लेख गर्दै यो सहमति त्यही भावनाअनुरुप संस्था बचाउने उद्देश्यले भएकाले यसअघिका सबै समानान्तर कार्यलाई स्थगित गर्ने सहमति भएको जानकारी दिए ।

अध्यक्षका प्रत्यासी बद्री केसीले संघकाे एकतालाई कायम राख्न बहुअध्यक्षात्मक प्रणालीबाट संघकाे नेतृत्व गर्ने सहमति भएको बताए । सहमतिलाई कार्यान्वयन गर्न भविष्यमा नजिर नरहने गरी १०औँ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गरिने उनले बताए । अहिलेको विशेष र असाधारण परिस्थितिमा विगतका सबै असमझदारी, बहस र विवादलाई बिर्सेर संघकाे एकतालाई अक्षुण्ण राख्नका लागि सहमतिको आधारमा दशौँ महाधिवेशन गर्नुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

यस्तै अध्यक्षका अर्का प्रत्यासी रविना थापाले पनि सहमतिपछि संस्थालाई एक बनाएर अघि बढ्नुपर्ने बताइन् । एनआरएनएमा आगामी अधिवेसनको प्रतिनिधि छनोटमा विवाद हुँदा केही समयदेखि विवाद रहँदै आएको थियो ।

प्रकाशित समय : २२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु