गृहपृष्ठ श्रम संस्कृति विकास गर्दै वडाध्यक्ष र गाउँलेसँगै जुटेर खेल मैदान बनाउँदै
श्रम संस्कृति विकास गर्दै वडाध्यक्ष र गाउँलेसँगै जुटेर खेल मैदान बनाउँदै
रामेछाप । शुक्रबार बिहानदेखि मन्थली नगरपालिका–८ चिसापानीको ठूलो चौरमा फरक दृश्य देखिन्थ्यो । कसैले सिमेन्ट र बालुवा मोल्दै थिए, कसैले पानी हालेर मसला तयार गर्दै थिए, कसैले बाल्टी र कराइमा मसला बोकेर निर्माणस्थलसम्म पु¥याइरहेका थिए । त्यही भीडमा स्थानीयवासीसँगै खटेर मसला बोकिरहेका थिए वडाध्यक्ष गोपाल श्रेष्ठ ।
गाउँमा निर्माणाधीन प्याराफिटसहितको भलिबल खेलमैदानको प्याराफिट ढलान गर्ने कामका लागि शुक्रबार स्थानीयवासी सामूहिक श्रमदानमा जुटेका थिए । स्थानीय तह र नागरिकको साझेदारीमा निर्माण भइरहेको उक्त खेलमैदान अहिले चिसापानीको सामूहिक अभियान बनेको छ ।
करिब १७ लाख रुपैयाँ लागत अनुमान गरिएको खेलमैदान निर्माणका लागि वडा कार्यालयले झण्डै आठ लाख रुपैयाँ व्यहोर्नेछ भने बाँकी रकम स्थानीयवासीको सहयोग, दाताको योगदान र जनश्रमदानमार्फत जुटाइने योजना छ। त्यसकै परिणामस्वरूप निर्माणस्थलमा दैनिकजसो गाउँलेहरूको उल्लेखनीय सहभागिता देखिन थालेको छ ।
वडाध्यक्ष श्रेष्ठका अनुसार रामेछाप जिल्लामै प्याराफिटसहितको व्यवस्थित भलिबल खेलमैदानको अभाव रहेकाले खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर यो योजना अघि बढाइएको हो ।
‘हामीले खेल मैदान मात्रै बनाइरहेका छैनौँ, गाउँमा हराउँदै गएको श्रमदान र सामूहिक काम गर्ने संस्कृतिलाई पनि पुनर्जीवित गर्न खोजिरहेका छौँ,’ उनले भने, ‘विकास निर्माणमा स्थानीयको अपनत्व बढाउन र युवालाई सकारात्मक गतिविधिमा जोड्न पनि यो अभियान महत्वपूर्ण छ ।’
उनका अनुसार चिसापानीको ठूलो चौरमा निर्माण हुन लागेको खेलमैदान आधुनिक स्वरूपको हुनेछ। प्याराफिटसहित आवश्यक संरचना निर्माण भएपछि खेलाडी र दर्शक दुवैलाई सहज हुने विश्वास गरिएको छ । स्थानीय स्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न तथा जिल्लास्तरीय कार्यक्रम आयोजना गर्नसमेत यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
निर्माणस्थलमा श्रमदान गरिरहेका स्थानीयवासीले पनि सामूहिक प्रयासबाट गाउँको गौरव बन्ने पूर्वाधार निर्माण गर्न पाउँदा उत्साहित भएको बताएका छन्। केही व्यक्तिहरूले आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन् भने युवाहरू नियमित रूपमा श्रमदानमा सहभागी भइरहेका छन् ।
स्थानीयका अनुसार पछिल्लो समय गाउँमा श्रमदानको परम्परा कमजोर बन्दै गइरहेको अवस्थामा खेलमैदान निर्माण अभियानले पुरानो सामाजिक एकता र सहकार्यको संस्कृतिलाई पुनर्जीवित गर्ने अवसर दिएको छ। विकास निर्माणमा जनसहभागिताको उदाहरणका रूपमा चिसापानीको यो अभियानलाई हेरिएको छ।
वडा कार्यालयले चालु आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। निर्धारित समयमै काम सम्पन्न भए चिसापानीले जिल्लाकै नमुना भलिबल खेलमैदान पाउनेछ भने श्रमदानमार्फत विकास निर्माण गर्ने संस्कृतिले पनि नयाँ ऊर्जा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित समय : २०:२४ बजे



















