गृहपृष्ठ कालीकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा
कालीकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा
कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका-१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी-एड्स, क्षयरोग, कोभिड-१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. रत्नवीर सुनारले बताए ।
'सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,' उनले भने, 'जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएकामा आइतबारदेखि नियमित सञ्चालनमा आएको छ ।' अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पुर्याउने लक्ष्य रहेको छ । यसअघि कोभिड-१९ का संक्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको प्रमुख डा.सुनारको भनाइ थियो ।
उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन् । अस्पताल सञ्चालन आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका छन् ।
प्रकाशित समय : १७:५८ बजे



















