चुनावी हुँकारमा शिर्ष नेतृत्व, कार्यकर्तालाई गलत खुराक पस्किँदै
वि.सं.२०७८ चैत ६ आइतवार १५:१७
shares

स्थानीय तहको निर्वाचन वैशाख ३० मै हुने भएपछि सहर बजारदेखि गाउँ टोलसम्म चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलहरु चुनाव केन्द्रित गतिविधिमा होमिएका छन् । सबै दल पार्टी प्रशिक्षण र चुनावी रणनीति बनाइरहेका छन् । तर दलहरुका नीति चाहिँ कार्यकर्ता भड्काउने र उक्साउनेतर्फ केन्द्रित देखिएको छ ।
‘आफैँ नमरी स्वर्ग देखिँदैन’ भन्ने पक्ष छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' । भरथेग विश्वास गरेको सत्ता गठबन्धन तालमेलसहित चुनावमा जाने सम्भावना लगभग सकिएपछि अब आफैँ एक्लै चुनावमा जाने र जितेर आउने गरि पार्टीमा प्रशिक्षण चलाइरहेका छन् । उनी कार्यकर्ताबीचमा भनिरहेका छन्, ‘निर्वाचन जनयुद्धकै ब्याटल हो । आक्रामक तरिकाले लाग्नुस्, जसरी पनि जित्नैपर्छ ।’
उनको प्रशिक्षण पार्टीको नीति कसरी बलियो बनाउनेभन्दा पनि कसलाई रोक्ने र कसलाई ठोक्ने अनि कसरी माथि पुग्ने भन्नेमा केन्द्रित छ । चुनावी मैदानलाई युद्ध मैदान नै बनाउन खोजिरहेका प्रचण्ड एक्ला पात्र होइनन् । उनका कट्टर प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि यसरी नै गतिविधि चलाइरहेका छन् ।
दैनिक दुई/चारवटा चुनाव लक्षित सभामा कार्यकर्तालाई प्रशिक्षण दिने ओलीले माओवादी, कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई तारो बनाइरहेका छन् । कसरी विपक्षीलाई पछार्दै आफू पहिलो हुने ओली अनेक तरिका अपनाइरहेका छन् । माओवादी र समाजवादीलाई टेरपुच्छरसमेत नगरेका ओलीले कांग्रेसलाई १३ सिटमा झार्ने चुनौती दिइरहेका छन् । 'गत निर्वाचनमा कांग्रेसकाे २३ सिट आएको होइन, अब १३ सिटमा जानुपर्छ,' शनिबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने ।
शक्तिका हिसाबले कांग्रेस नै एमालेको पहिलो प्रतिद्वन्द्वी हो । मुख्य प्रतिस्पर्धा कांग्रेससँगै हुने भएपछि एमाले अध्यक्ष ओलीले कांग्रेसलाई नै कमजोर पार्न लागिपरेका मात्रै छैनन्, कटाक्ष गर्दै प्रधानमन्त्री देउवालाई वृद्धभत्ता लिन र लौरो टेकेर सूर्यमा भोट हाल्न जान सुझाव दिइरहेका छन् ।
तर उनलाई आफ्नै पुराना सहपाठीले पत्याएका छैनन् । एमालेबाटै विभाजित भएर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपालले शनिबार गोरखामा नेकपा एमाले नरहेको भन्दै 'बी'माले, 'सी'माले भन्न आग्रह गरे । सूर्यमा ग्रहण लागिसकेको बताएका नेपालले अब कलमले कमाल देखाउने दाबी गरे ।
वृद्धभत्तामा समेत ओली-नेपालको जुहारी चलेको छ । एमाले सरकारले ल्याएको वृद्धभत्ता लिन ओलीले देउवालाई कटाक्ष गरेका बेला नेपालले वृद्धभत्ता ल्याउने पात्रका रुपमा आफूलाई स्याबास भन्न आग्रह गरेका छन् । मुख्यतः उनको पार्टीको दाउ एमालेलाई जतिसक्दो धक्का प्रहार गर्ने रहेको छ ।
कांग्रेसलाई १३ सिटमा झार्ने ओलीको चुनौतीजस्तै एमालेको बाकसमा जिरो मत बनाउने एकीकृत समाजवादीको नेताहरुको जिकिर छ । 'दुई/दुई पटक संसद् विघटन गरेको र संविधान मास्न खोजेको सजाय एमालेले पाउनैपर्छ । जनताले दण्ड दिनैपर्छ । एमालेको बाकसमा जिरो मत बनाउनुपर्छ,' शनिबार गुल्मी पुगेका नेता झलनाथ खनालले भने ।
कम्युनिष्टहरु नै एकअर्काविरुद्ध भण्डाफोर गर्दै चुनावमा होमिएका बेला कांग्रेस घर-घर पुगिरहेको छ । त्यहाँ पनि आफ्ना पार्टीको नीति र विचारभन्दा कम्युनिष्टको भण्डाफोर गर्दै चुनाव जित्ने तरिका अपनाइएको छ । संसदबाट एमसीसी अनुमोदन गराउन मूख्य भूमिका खेलेको कांग्रेसले एमसीसीको विरोधाभाष चिर्ने नीति मुख्य प्राथमितामा राखेको छ र वडा वडामा प्रशिक्षण चलाइरहेको छ ।
मुलतः कार्यकर्तालाई सही नीति, विचार, सिद्धान्त सिकाउनेभन्दा पनि भड्काउने र उक्साउने अनि निर्वाचनमा जाने तयारी राजनीतिक दलहरुले गरेका छन् ।
























