गृहपृष्ठ बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
सत्ता गठबन्धनबाट बागमती प्रदेशका मुख्यमन्त्री बनेका नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे आज विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बस्ने तय भएकाे छ ।
स्पष्ट बहुमत नरही नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी नेपालको समर्थनमा गत ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल छ ।
१ सय ९ सिट रहेको प्रदेशसभामा बहुमतका लागि ५५ सांसद आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर छ । एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई तथा जसपाको एक सिट छ ।
प्रकाशित समय : १३:४७ बजे



















