गृहपृष्ठ विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्छ : मन्त्री भुसाल
विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्छ : मन्त्री भुसाल
ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको बताएकी छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताइन् । उनले भारतमा विद्युत व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एशियाकै पहिलो भएको बताइन् ।
मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको र आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् । ‘हामीसँग बढी नै इनर्जी हुने कुराको निर्यात गर्न सक्ने, पाउने नयाँ स्थितिमा पुगेका छौँ । यसले विद्युतको व्यापार मात्रै हुन्न, हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ, त्यसलाई क्रमशः न्यूनिकरण गर्ने भूमिका खेल्छ’, मन्त्री भुसालले भनिन्, ‘भर्खर हामीले भारतमा विद्युत व्यापार सुरु गरेका छौँ । बंगलादेश भारत भएर जाने हो । त्यसैले हामीलाई त्रिपत्रीय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’
मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका ऊर्जाहरुलाई विद्युतले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रदान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने बताइन् । मन्त्री भुसालले उद्योगहरुलाई अब चाहिए जति विद्युत दिनसक्ने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् । उनले आन्तरिक खपतको लागि विद्युत महशुल घटाएको बताइन् ।
प्रकाशित समय : १९:०३ बजे



















