global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्री पदमा उम्मेद्वारी घोषणा

कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्री पदमा उम्मेद्वारी घोषणा

कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्री पदमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८औं जन्मजयन्तीका अवसरमा तत्कालीन सुन्दरीजल बन्दीगृहमा आज आयोजित विशेष कार्यक्रममा उनले बीपीको सपना पूरा गर्न महामन्त्री पदमा उम्मेद्वारी दिन लागेको बताए ।

'१५ वर्षभित्र सबै नेपालीलाई आफूजस्तै मध्यमस्तरको जीवनशैली यापन गर्न सक्ने हैसियतको बनाउने बीपीको दृष्टिकोण अझै पूरा हुन सकेको छैन, यो सपना पूरा गर्न मैले उम्मेद्वारी दिने घोषणा गरेको हुँ,' उनले भने । विसं २०१६ जेठ १३ गते प्रधानमन्त्री नियुक्त भएपछि बीपीले १५ वर्षभित्रमा गर्छु भनेको काम राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाले ३० वर्षसम्म पनि गर्न नसकेको नेता शर्माले बताए । आफू महामन्त्री भएर पार्टीलाई तीनवटा निर्वाचन जिताई बीपीको सपना पूरा गर्ने उनको प्रतिबद्धता छ ।

पार्टीमा युवा पुस्ता ऊर्जाका साथ नेतृत्वमा अघि बढेकाले बीपीको सपना पूरा गर्न सकिने प्रवक्ता शर्माले बताए । बीपीले दुई तिहाइ सरकारको कमीकमजोरी लेख्न सञ्चारमाध्यमलाई निश्चित बजेट व्यवस्थापन गरेर पत्रकारिता क्षेत्रको सम्मान गरेको परम्परालाई कांग्रेसले निरन्तरता दिने उनको भनाइ छ । विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरी बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत नेतालाई लामो समय थुनेको तत्कालीन सुन्दरीजल बन्दीगृह हालको बीपी संग्रहालय पुगेर नेता शर्माले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा लगत्तै उनले बीपी, गणेशमान, किसुनजी, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवानसिंह राईलगायत योद्धाको शालिकमा माल्यार्पण गरे । 

बन्दीगृहमा बीपीले रोपेको कपुरको रुखमा जल सिञ्चन गरी उनले संग्रहालय परिसरमा रुद्राक्षको बिरुवासमेत रोपेका छन् । कार्यक्रममा कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ का सभापति एवं गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेललगायतले बीपीको सपना पूरा गर्ने नेतृत्वलाई १४औं महाधिवेशनमा जिताउने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित समय : ००:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु