Nepalese Flag २०७८ कार्तिक ८ गते सोमबार   |   October 25, 2021

संखुवासभा हत्याकाण्ड : ३ दिन बित्यो, उस्तै छ प्रहरीको जवाफ

न्युज कारोबार काठमाडौं भदौ २४, २०७८       

jeewan-bima-jaruri-chha संखुवासभा हत्याकाण्ड : ३ दिन बित्यो, उस्तै छ प्रहरीको जवाफ घटनापछि खाेलागाउँमा भेला भएका स्थानीयहरू ।

संखुवासभाको मादी नगरपालिका- १, उम्लिङस्थित खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको तीन दिन बितिसकेको छ । ५२ वर्षीय तेजकुमार कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५० वर्षीया श्रीमती कमला, २५ वर्षीया बुहारी रञ्जना, नाति ९ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीया गोमाको घरमै हत्या भएको हो । उनीहरुको शव घर वरिपरी विभिन्न स्थानमा भेटिएको थियो । तेजकुमारका बाबु ८० वर्षीय बौद्धमान मात्र सकुशल छन् । तेजकुमारका दुई छोरा वैदेशिक रोजगारीमा छन् ।

हत्यामा गह्रौं किसिमका घरेलु हतियार प्रयोग भएको प्रहरी निष्कर्ष छ । प्रहरीका अनुसार फलामको घन वा गह्रौं किसिमका काठले टाउकोमा प्रहार गरिएको हो । शव विभिन्न स्थानमा भेटिएकाले लखेटी-लखेटी आक्रमण भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रहरीको प्रारम्भिक अनुमान मिलेन

घटनाको अनुसन्धानका लागि अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोली, १ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख डीआइजी अरुणकुमार बीसी, जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी घटनास्थलमै छन् । प्रहरी टोलीले तालिमप्राप्त कुकुरको प्रयोगसमेत गरिरहेको छ । तेजकुमारका छोराहरु विदेशमा रहेको र उनीहरुकै कमाइबाट कार्की परिवारले तराइमा जग्गा किन्न लागेको भन्ने जानकारी पाएपछि घटना लुटपाटसँग सम्बन्धित हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान थियो । तर, घरमा ५ लाख बढी नगद, सुनका विभिन्न गहनाहरु सुरक्षित भेटिएका कारण प्रारम्भिक अनुमान नमिलेको प्रहरीको भनाइ छ ।

शोक र त्रासमा स्थानीय

मृतकहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो । मृतक ६ जनाको बुधबार बेलुकी इटहरीमा दाहसंस्कार गरिएको छ । यता, उम्लिङ भने शोकमा डुबेको छ । आफन्त तथा छिमेकी परिवारको विभत्स हत्याको घटनाले गाउँ शोकाकुल मात्र छैन, त्रासमय पनि बनेको छ । गाउँ सुनसान बनेको छ ।

स्थानीय शिक्षक योगेन्द्र ओझाले उक्त घटनापछि गाउँमा अहिले त्रास फैलिएको बताए । ‘घाँस-दाउरा र मेलापात गर्न सकिने अवस्था छैन । केटाकेटी र महिलाहरु मात्र होइन, हामी पनि डराएका छौं,’ न्युज कारोबारसँगको कुराकानीका क्रममा उनले भने । शिक्षक ओझाका अनुसार स्थानीयवासीले ‘अपराधीलाई चाँडो पक्राउ गरी ज्यानको बदला ज्यान न लिनेसम्मको कारबाही हुनुपर्छ’ भन्ने किसिमको आक्रोश पनि पोखिरहेका छन् । अनुसन्धानका लागि एकपछि अर्को गर्दै जिल्ला प्रहरी प्रमुख, संघीय प्रहरी कार्यालयको टोली, सीआईबी टोली, प्रदेश प्रहरी प्रमुख, तालिमप्राप्त कुकुर थपिँदै जाँदा अपराधी पक्राउ पर्नेमा आशावादी बनेका स्थानीय नतिजा नआउँदा चिन्तित छन् ।

प्रहरीको एउटै जवाफ

घटना घटेको पूरै तीन दिन बितिसक्दा पनि हत्यारा भने पक्राउ पर्न सकेको छैन । प्रहरीले घटना बिहान उज्यालो हुनेबित्तिकैको समयमा घटेको बताइरहँदा अपराधीहरु एकभन्दा बढीको संख्यामा भएको हुनसक्ने अनुमान छ । तर, प्रहरीले बिहीबार दिउँसोसम्म अपराधीको कुनै संकेत ‘क्लु’ फेला पार्न सकेको छैन, न त कोही पक्राउ परेका छन् । यसबीचमा प्रहरीको नफेरिएको एउटै जवाफ छ, ‘अनुसन्धान जारी छ ।’

पछिल्लो जानकारी लिन फोन गर्दा हरेक पटक कल रिसिभ गरे पनि डीएसपी सुवेदी संक्षिप्त जवाफ फर्काउँछन् । उनको जवाफ हुन्छ, ‘विभिन्न ढंगबाट अनुसन्धान भइरहेको छ ।’ बुधबार सम्पर्क गर्दा त डीएसपी आफैँ सोध्दैथिए, ‘गाउँलेहरु के भन्छन् ? तपाईंहरुसँग केही जानकारी छ कि ?’

‘२ जना पक्राउ परेको’ भन्ने विषयमा

संखुवासभा प्रहरी प्रमुख डीएसपी सुवेदीले विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको बताएका छन् । भन्छन्, ‘सबै एंगलबाट घटनाको विश्लेषण गरेका छौं । अपराधीसम्म छिट्टै पुग्छौं ।’ सोमबार साँझ उम्लिङका दुई व्यक्ति चैनपुर नगरपालिका-१, नुनढाकीको बिहीबारेबाट पक्राउ परेको नुनढाकीका स्थानीयहरुले बताएका थिए । तर सो समाचार सत्य नभएको प्रहरीले बताएको थियो । बिहीबार दिउँसोसम्म पनि कोही पक्राउ नपरेको डीएसपी सुवेदीको भनाइ छ ।

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईको पनि जवाफ उस्तै छ । बिहीबार दिउँसो अनुसन्धानको प्रगतिबारे सोधिएको प्रश्नमा उनले भने, ‘क्लु भेटिएको छैन । अनुसन्धान भइरहेको छ ।’ यो समाचार तयार पार्ने क्रममा पछिल्लो जानकारी माग्दा जिल्ला प्रहरी कार्यालयमै रहेका इन्स्पेक्टर सुभेष अधिकारीले पनि ‘नयाँ त्यस्तो केही खुलेको छैन’ भन्ने जवाफ दिए ।

सम्बन्धित खबरहरु