गृहपृष्ठ झापामा भारतबाट आएको हात्तीले धानबाली नष्ट
झापामा भारतबाट आएको हात्तीले धानबाली नष्ट
पूर्वोत्तर झापाको बाहुनडाँगीमा विद्युतीय तारबार नाघेर भारतबाट आएको जंगली हात्तीले धानखेती नष्ट गरेको छ । विगतमा पाकेको धान, मकै, कोदोलगायतका बाली खाने हात्तीले अहिले लहलह हुर्किदै गरेका धानका बोट नै खान थालेको मेचीनगर नगरपालिका-४ का शंकर लुइँटेलले बताए । उनका अनुसार आज बिहान आएको एउटा हात्तीले स्थानीय सन्तोष न्यौपाने र भैरवबहादुर गौतमको धानखेत नष्ट गरेको हो । हात्तीले भर्खरै सारेको धानको रोपो सुँढले तानेर गुबो खाने गरेको छ ।
कहिले हुल बाँधेर र कहिले एक्लै आउने हात्तीले साँझदेखि बिहानसम्म बाली खाएर क्षति पुर्याउन थालेपछि स्थानीय चिन्तित बनेका छन् । पीडित भैरवबहादुर गौतमले चार कठ्ठा खेतको रोपो एकै मेलोमा खाइदिएको बताए । उनले हात्ती खेद्ने संयन्त्र नहुँदा किसान मारमा परेको गुनासो गरे । झापाको पूर्वोत्तर क्षेत्र बाहुनडाँगीमा भारतबाट दैनिकजसो जंगली हात्ती गाउँमा पस्ने गरेको छ । सरकारले सीमा क्षेत्रमा विद्युतीय तारबार लगाए पनि तारबार भत्किएका ठाउँबाट हात्ती छिर्ने गरेको छ ।
हात्ती र कोरोनाको आतंक एकैपटक आइलागेका कारण ज्यान जोगाउने कि बाली भन्ने समस्या उत्पन्न भएको अर्का पीडित सन्तोष न्यौपाने बताउँछन् । कोरोना संक्रमण नबढोस् भनेर नगरपालिकाले सिलबन्दी गरेको र जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ । (रासस)
प्रकाशित समय : २१:५१ बजे



















