nmb bank

गृहपृष्ठ एमाले विवाद : दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा

एमाले विवाद : दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा

एमाले विवाद : दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा

आन्तरिक विवादमा फसेकाे नेकपा एमालेमा पार्टी एकताका लागि दाेस्राे तहका नेताहरू छलफलमा पुन: जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच अहिले छलफल चलिरहेको छ ।

छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको बताइएकाे छ ।​ विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहेका थिए । यस्तै एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी भएकाे स्राेतले बताएकाे छ । शुक्रबार संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय लिएको थियो ।

यसले एमालेमा एकताको प्रयासमा अवरोध खडा गरेको माधव नेपाल पक्षको नेताहरुको भनाइ थियो । असार २७ गते कार्यदलले गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि नेताहरु छलफलमा जुटेको बुझिएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको टकरावका कारण सहमति कार्यान्वयनमा समस्या खडा भएको छ ।  ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नरहेको बताएपछि पार्टी एकता जटिल बनेको छ ।

यस्तै शुक्रबार एमाले स्थायी कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ भने माधव पक्ष संसद जोगाउन भए पनि विश्वासको मत दिने अडानमा छ । एमाले प्रतिपक्षी कित्तामा पुगे पनि नेपाल पक्षले सत्तारुढ गठबन्धनसँगको सहकार्य जारी राखेको छ ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु