दुई करोडको स्वास्थ्य सामग्री सहयोग
वि.सं.२०७८ जेठ २५ मंगलवार १७:३०
shares

बीएसपी नेपाल नामक गैरसरकारी संस्थाले राजधानीलगायत देशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई कोरोना संक्रमितकाे उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुर लगायतका जिल्लाका ४२ वटा स्थानीय निकाय, सरकारी तथा निजी क्षेत्रका अस्पताल एवं विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएकाे हाे ।
पीपीई, मास्क लगायतका १ कराेड ९० लाख रूपैयाँकाे स्वास्थ्य सामग्रीहरु वितरण गरिएको संस्थाले जनाएको छ । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवालाई प्रभावकारी बनाउन उद्देश्यले सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई स्वास्थ्य संस्थामा आवश्यक सामग्री वितरण गरिएको बीएसपी नेपालका अध्यक्ष शेखर अर्यालले बताए । राष्ट्रिय विपद्को अवस्थामा सरकारको मात्र मुख नताकी जनस्तरबाट सक्दो सहयोग गर्न र कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन यस किसिमको सहयोगको विशेष महत्व रहने उनको धारणा छ । ती स्वास्थ्य सामग्रीहरु वितरण गर्ने क्रममा अध्यक्ष अर्यालले यस किसिमको सहयोगबाट स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मी तथा आम नागरिक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सोही संस्थाका कार्यकारी निर्देशक प्रकाश लामिछानेले विशवव्यापी महामारीबाट आक्रान्त भइरहेको अवस्थामा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्थलगत रुपमै गएर केही सहयोग गर्न पाउँदा संस्थाले गौरवको अनुभव गरेको बताए । माई कलाइमेन्ट फाउण्डेशन स्वीजरल्याण्डको सहयोगमा सर्जिकल मास्कसहित १० हजार पीपीई सेट उपलब्ध गरिएको उनले जानकारी दिए । कार्यकारी निर्देशक लामिछानेले प्राप्त सामग्रीको सही सदुपयोग र उपयोग गर्न समेत आग्रह गर्दै भविष्यमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र नागरिकको सेवामा सहज गराउन यस्ता स्वास्थ्य सामग्री केही सहयोग पुग्ने भएकाले बीएसपी नेपालले सामाजिक भावनाबाट प्रेरित भई गाउँपालिका, नगरपालिका र अस्पताल एवं स्वास्थ्य संस्थाहरुलाई सहयोग गरिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठले बताए । देशका ग्रामीण वस्तीहरुमा वायोग्यास प्रविधिको विकास र विस्तार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापना भएको यस संस्थाले यसअघि पनि यस्ता विपद्का समयमा सामाजिक उत्तरदायित्वअनुसार विभिन्न राहत सहयोग गर्दै आएको छ ।

























