गृहपृष्ठ ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाहीमा
ठूलो आवाज निकाल्ने ३४२ वटा मोटरसाइकल कारबाहीमा
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकउपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाइकललाई कारवाही गरेको छ ।
महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनुका साथै सर्वसाधरणमा अनावश्यक आवाजका कारण आतंकित तुल्याउने र ध्वनि प्रदुषण हुने भएकाले कारवाही गरिएको जानकारी दिए । जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको महाशाखाले जनाएको छ ।
महाशाखाले मोटरसाइकलहरुले ध्वनि प्रदुषण हुने गरी सहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरबाही ढंगले चलाउने, जिकज्याक रुपमा चलाउने कार्यहरु कानुनविपरीत भएकोले कारवाही गरेको हो ।
यस्ता गलत गरी चलाउने मोटरसाइकलको विभिन्न माध्यमबाट नम्बर संकलन गर्नुका साथै निगरानीमा राखिएको महाशाखाले जनाएको छ । यस्ता किसिमका मोटरसाइकलहरू कतै गुडिरहेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराईदिन सम्पूर्ण नागरिकमा महाशाखाले विशेष अनुरोधसमेत गरेको छ ।
प्रकाशित समय : २०:४३ बजे



















