Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

‘शैक्षिक संस्थामा दलीय राजनीतिकरण अन्त्य गर्ने हाम्रो अभियान’

धिरेन्द्र चन्द सोडारी काठमाडौं चैत २९, २०७७       

‘शैक्षिक संस्थामा दलीय राजनीतिकरण अन्त्य गर्ने हाम्रो अभियान’

शिक्षाको बारेमा के सिकेका छौं, कस्तो छ भन्ने कुरा धेरै भनिराख्नु परेन । नेपालको शिक्षा नीति नै गलत छ । आजका दिनमा शिक्षामा व्यापक रुपमा परिवर्तन भइरहेको छ । २ फेब्रुअरी १८३५ पछि भारत वर्षमा नै लर्ड थोमस बबिंटन मेकाले ले शिक्षा, संस्कृति, सम्भतामाथि आक्रमण गर्दै आफ्नो साम्राज्य नै खडा गरेका थिए । पूर्वको इतिहासलाई बंग्याइयो र आर्य मंगोल द्रविण आदिको कथा कहानी बनाएर पूरै भारत वर्षमा आक्रमण गरियो । लर्ड मेकालेले भारतमा आधुनिक शिक्षा भित्र्याए ।

जंगबहादुर राणाले पनि त्यही काम गरे, हयूगवी उड लर्ड मेकालेले संस्कृति शिक्षालाई बेकामे र अन्धविश्वास उत्पादन गर्ने भाषा भने । वि.स २०२८ को नयाँ शिक्षाले संस्कृति सभ्यतालगायतलाई करिब करिब प्रतिबन्ध नै लगायो । टाई सुट नलगाउनेहरु अशिक्षित, गाउँले र पाखे भए । अंग्रेजी पढ्नेहरु शिक्षित र सभ्य भए । त्यही शिक्षाको कारणले नैतिकता, संस्कार, श्रमको सम्मान, नारीको इज्जत र परिवारको महत्व विस्तारै सकियो । शिक्षाविद् स्व. जनार्दन घिमिरेले भन्नुभएको छ, ‘नेपालमा कुनै विश्वविद्यालय छैन । विश्वविद्यालयको फोटोकपी मात्र छ, त्रिभुवन विश्वविद्यालय पटना विश्वविद्यालयको फोटोकपी हो । नेपाल संस्कृत विश्वविद्यालय सम्पूर्णानन्द विश्वविद्यालयको फोटोकपी हो । त्यस्तै अन्य विश्वविद्यालय भारतका प्रान्तीय विश्वविद्यालयका फोटोकपी हुन् ।’

आज त्यही मेकालेले आक्रमण÷बलात्कार गरेको शिक्षा पद्धतिमा मौलिकता, नवीनता नहुनु स्वभाविक हो । शिक्षामा आजका दिनमा हामी सबै रमाइरहेका छौं, कहिले सोचेका छौं, आफ्नो माटो सुहाउँदो शिक्षा पद्धति अथवा मौलिक शिक्षा पद्धतिमा जोड दिनुपर्छ भनेर कहिले चिन्तन गरेका छौं । नेपालको शिक्षा नीतिलाई नै सिध्याउनु यहाँ थुप्रै मेकालेहरु सक्रिय छन् । तर, आवरण भने अनेक छन् । सञ्चारमाध्यममा स्तम्भकारका रुपमा काम गरिरहेका छन् । सरकार, निजी क्षेत्र लगायतमा नै बसेर नीति अनुसन्धानदाताका रुपमा पनि काम गरिरहेका छन् । पहिले शिक्षा पद्धति नै परिवर्तन गरौं । अबको शिक्षा पद्धति मौलिक शिक्षा पद्धति हुन आवश्यक छ, आफ्नो धर्म संस्कृति, सभ्यता लगायतको संरक्षण गर्दै आर्टिफिसियल इन्टेलिजेन्ससँग प्रतिस्पर्धा गर्नु खालको शिक्षा नीति लागू गर्नुपर्छ ।

यदि हामी सरकारमा गयौं भने ११ विश्वविद्यालयमा आवद्ध रहेका १४०८ भन्दा धेरै शैक्षिक संस्थाहरुमा अन्तर्राष्ट्रिय शिक्षासँग प्रतिस्पर्धा गर्ने मौलिक शिक्षा पद्धति लागू गर्नेछौँ । विश्वविद्यालयमा हुने दलीय राजनीतिक बन्द गर्नेछौं । नितान्त शैक्षिक थलो बनाउने छौं । प्रत्येक विश्वविद्यालयमा आधुनिक गुरुकुलसहितको शिक्षा लागू गर्नेछौं । ज्ञान परम्परासहित अहिलेको आर्टिफिसियल इन्टिलेन्ससँग प्रतिष्पर्धा गर्ने शिक्षा पद्धतिको लागू गर्नेछौं । प्रत्येक प्रदेशमा सुविधा सम्पन्न आधुनिक गुरुकुलहरुको निर्माण गर्नेछौं । बुढानीलकण्ठ भन्दा कयौँ गुणात्मक विद्यालयहरु सयौं संख्यामा छन् । नेपाली विद्यार्थीहरुलाई गरिखाने शिक्षा बनाउने छौं । देशको माटोमा अध्ययन गरे विश्वसामु गर्व गर्ने शिक्षा पद्धति लागू गर्नेछौं ।

नेपाली पुर्खाले सिकाएको ज्ञान परम्परालाई विश्वसामु चिनाउने शिक्षा पद्धतिको विकास गर्नेछौं । संस्कारित शिक्षा नै हाम्रो पहिलो प्राथमिकता नै हुनेछ । विभिन्न विद्यालयमा हुने राजनीतिक भागवन्डा, दलीय हस्तक्षेप सधैको लागि बन्द गर्नेछौं । शिक्षा क्षेत्रका भइरहेको दलीय सिन्डिकेटको नै अन्त्य गर्नेछौं । नेपाली माटोलाई गर्व गर्ने, नेपाली पूर्खाको ज्ञानलाई सम्मान गर्ने र व्यवहारमा लागू गर्र्नेे मौलिक शिक्षा पद्धति नै लागू गर्नेछौं ।

महाविर पुनले सञ्चालन गर्नुभएको राष्ट्रिय आविष्कार केन्द्रलाई साथ सहयोग, सुझाव, सल्लाह र  थप सशक्त गर्दै सातै प्रदेशमा खोल्नेछौं । अनुसन्धान, उद्यमशीलता र विकासलाई कार्य पद्धति नै बनाएर शैक्षिक क्षेत्रलाई अगाडि बढाउनेछौं । नागरिक तथा नैतिक शिक्षालाई थप सशक्त रुपमा अगाडि बढाउनेछौं । मठ, मन्दिर, गुरुकुललाई ज्ञानका स्रोत बनाउनेछौं । विद्यार्थीहरुलाई उद्यमी, नवाचार, आविष्कार, अनुसन्धानमा लाग्नुमा धेरैभन्दा धेरै प्रेरित गराउनेछौं । चरित्रवान्, नैतिकवान शिक्षाको विकास गर्नेछौं । (लेखक सोडारी प्रगतिवादी युवा समाज नेपालका केन्द्रीय अध्यक्ष  हुन् ।)

सम्बन्धित खबरहरु