Nepalese Flag २०७८ वैशाख २८ गते मंगलबार   |   May 11, 2021

प्रदेश २ मा विद्युत प्रणाली सुधार गर्न भारतीय कम्पनी टाटा प्रोजेक्टसँग ४ अर्बको ठेक्का सम्झौता

न्युज कारोबार काठमाडौं चैत ५, २०७७       

प्रदेश २ मा विद्युत प्रणाली सुधार गर्न भारतीय कम्पनी टाटा प्रोजेक्टसँग ४ अर्बको ठेक्का सम्झौता

प्रदेश २ का ८ जिल्लाको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न भारतीय कम्पनी टाटा प्रोजेक्ट लिमिटेडसँग करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौता भएको छ । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम रकम कबोल गरेर टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नं २ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

आयोजनामार्फत प्रदेश नं २ मा पर्ने जिल्लाहरुको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरण सहितका ३३/११ केभी, १६..६ एमभीए क्षमताका ८ वटा सबस्टेसनको निर्माण गरिने छ । यसैगरी, ३३/११ केभी, ८ एमभीए क्षमताका दुईवटा सबस्टेसनको निर्माण गरिने छ । उक्त सबस्टेसनको क्षमता १४८.८ एमभीए हुनेछ ।

यसका साथै प्रदेश नं २ का जिल्लाहरुमा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर चार सय भोल्टको नयाँ लाइन निर्माण गरिने छ । आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले ३ करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैकमार्फत सञ्चालित हुनेछ ।

आयोजनाको निर्माण ठेक्का सम्झौता कार्यान्वयनमा आएको ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । काम सम्पन्नपश्चात प्रदेश नं २को समग्र विद्युत प्रसारण र वितरण प्रणालीमा सुधार आई हाल सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र घरायसी ग्राहकहरुले पर्याप्त र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने प्राधिकरणकाे अपेक्षा छ ।

सम्बन्धित खबरहरु