global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ११ हजार सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोज्ने सम्भावना

११ हजार सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोज्ने सम्भावना

११ हजार सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोज्ने सम्भावना

काठमाडौँ – सरकारले स्थानीय तह, प्रदेश र संघको समायोजनमा नजाने कर्मचारीलाई अवकास दिने भएको छ । त्यसका लागि प्याकेज बनाई स्वेच्छिक अवकासको बाटो रोज्न सरकारले ४५ दिने सूचनासमेत जारी गरेको छ ।

समायोजन प्रक्रियामा जाँदा करिब ११ हजार निजामती कर्मचारीले स्वेच्छिक अवकासको बाटो रोज्ने आँकलन सरकारको छ ।

सामान्य प्रशासनले त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रहसमेत गरेको छ । तर, एकैपटक त्यति ठूलो संख्यामा अवकास दिइदा कर्मचारीलाई सुविधा दिन बजेट अभाव हुने भन्दै मापदण्ड तय गर्नुपर्ने सुझाव अर्थले दिएको छ ।

सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवराम न्यौपानेले सबै तहका कर्मचारीबाट करिब ११ हजारले स्वेच्छिक अवकास रोज्न सक्ने भन्दै त्यसको जानकारी अर्थलाई समेत गराइएको कान्तिपुरलाई बताए ।

‘समायोजन रोज्ने कर्मचारीलाई दिने सुविधाका लागि आवश्यक बजेटबारे छलफल भइरहेको छ । त्यसबारे अर्थसँग बसेर टुंगो लगाउछौं’, न्यौपानेले भने ।

स्वेच्छिक अवकासका लागि ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवा अवधि पुगेका (पेन्सनका लागि योग्य) कर्मचारी हुनुपर्ने मापदण्ड सरकारले तय गरेको छ । उक्त मापदण्ड पूरा गर्ने सबै तहका कर्मचारी २२ हजार ६ सय छन् । तीमध्ये अवकास रोज्ने कर्मचारीलाई ७ वर्षको पेन्सन एकमुष्ठ रुपमा दिइने र उक्त अवधि भुक्तानी भएपछि प्रचलित कानुनबमोजिम पेन्सन दिइने राजपत्रमा उल्लेख गरिएको छ । त्यसरी पेन्सन लिएपछि ७ वर्षको अवधिमा बहालवाला सरकारी कर्मचारीको तलब बृद्धि हुदा समान पदबाट निवृत्त कर्मचारीले प्राप्त गर्ने थप निवृत्तिभरण रकम समेत प्राप्त गर्नेछन् ।

अवकास रोज्ने कर्मचारीले सम्बन्धित निकाय वा कार्यालयमा निवेदन दिन सक्नेछन् । ‘प्रक्रिया सुरु भइसकेको छ । केही सातामै मन्त्रालयमा त्यसको संख्याको आकार आउँछ’ प्रवक्ता न्यौपानेले भने ।

कर्मचारी समायोजनका लागि संसदले ऐन पारित गरेको थियो । त्यसलाई कार्यान्वयन गर्न नियमावलीको कामसमेत भइरहेको छ । नियामावली बनाउने क्रममा अवकासमा जाने कर्मचारी, खर्च र पदपूर्ति प्रक्रियाबारे सिंहदरवारमा गहन अध्ययन भइरहेको छ ।

त्यस्तै, नियमावलीमा हाल कायम रहेको श्रेणीलाई तहमा लैजाने र त्यसरी लैजाँदा सबै कर्मचारीको एक तह बढाइने उल्लेख छ । नियमावलीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरिने र त्यसले सबै अध्ययन पश्चातमात्र समायोजन र नियुक्ति प्रक्रिया टुंगो लाग्नेछ ।

अवकासका लागि निवेदन दिएपछि सम्बन्धित कर्मचारीले उक्त प्रक्रियाबाट फिर्ता हुन नपाइने नियम बनाइएको छ । त्यस्तै निलम्बनमा परेका, सरकारको स्वीकृतिमा अध्ययन विदामा रहेका तथा अध्ययन, तालिम सकेपछि पूरा गर्नुपर्ने न्युनतम सेवा अवधि पूरा नगरेका कर्मचारीले स्वेच्छिक अवकासको बाटो रोज्न पाउने छैनन् । साथै विभागीय कारवाही प्रक्रिया सुरु भएका कर्मचारीले समेत यो बाटो रोज्न पाउने छैनन् ।

निजामती सेवा ऐन, २०४९, नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन, २०६४ बमोजिम सेवामा कार्यरत कर्मचारी यो प्रक्रियामा सामेल हुन सक्नेछन्

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु