global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

लन्डन- गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा गरेको छ ।

सोमबार बेलायतको अल्डरसटमा आयोजित एक कार्यक्रमबीच एनआरएनए अध्यक्ष भवन भट्टले उक्त घोषणा गरेका हुन् ।

एनआरएनको उद्गमस्थल बेलायतबाटै भट्टले उक्त कोष स्थापना गर्ने घोषणा गरे । अक्टोबरमा अध्यक्ष निर्वाचित भएपछि भट्ट पहिलोपटक बेलायत आएका हुन् ।

भट्टले उक्त लगानी कोषमा निश्चित अंश वैदेशिकरोजगारमा जाने नेपालीहरुलाई सुनिश्चित गरिने जनाउँदै कोषमा आफ्नो क्षमता अनुसारको लगानी गर्न सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् । उनले वैदेशिक रोजगारमा गएका र साना स्तरको लगानी गर्ने गैरआवासीय नेपालीहरुलाई पनि लगानीमा सहभागी गराउन आवश्यक रहेको बताउँदै भने, ‘यसका लागि नयाँ स्थापना हुन लागेको कम्पनी आइपीओमा जान आवश्यक छ । कम्पनी स्थापना भएर श्रोत संकलन गरी लगानी गर्न सुरु गरे लगत्तै आइपीओमा जान पाउने व्यवस्था गर्न हामी नेपाल सरकारलाई अनुरोध गर्दछौं ।’

कोषबारे नेपाल सरकार र सरोकारवाला पक्षहरुसंग आवश्यक छलफलपछि प्रारम्भिक अवधारणापत्र तयार गरी विभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा छलफलको चरणमा रहेको संघले जनाएको छ ।

यस अघि ३५ देशका ८३५ लगानीकर्ताको सहभागितामा स्थापित ‘एनआरएन इन्भेष्टमेन्ट कम्पनी’ ले नेपालको निजी क्षेत्रको साझेदारीमा लमजुङको दोर्दी खोलामा २७ मेघावाट जलविद्युत परियोजना निर्माण कार्य सम्पन्न गर्न लागेको छ ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले एनआरएनएको उक्त घोषणाको स्वागत गर्दै यसमा सरकारको उपस्थिति रहने आश्वासन दिए ।

‘वैदेशिक लगानीका लागि उदार अर्थव्यवस्था र स्थिर सरकार आवश्यक छ,’ गर्भनर नेपालले भने, ‘अब नेपालमा अलमलिनु पर्ने केही छैन । अबको बाटो आर्थिक विकासको हो ।’

गभर्नर नेपालले अब एक डेढ महिनाभित्र नेपालमा २० अर्ब रुपैयाँ चुक्ता पंूजीको पूर्वाधार बैंक सञ्चालन हुन लागेको समेत जानकारी दिए ।

एनआरएनएको उक्त कोष घोषणालाई विशेष अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले ऐतिहासिक, दुरगामी र महत्वपूर्ण घोषणा भने । राजदूतले नेपालमा राजनीतिक उपलब्धि संस्थागत भएको र आर्थिक समृद्धिको सुनिश्चितता गर्ने दिशामा देश अग्रसर भएकाले देशलाई गाली नगरी लगानी गर्न आह्वान गरे । नेपाल सरकारले लगानीमैत्री वातावरण सृजना गर्ने आश्वस्त पार्दै राजदूतले लगानीका लागि कर्मचारीतन्त्रको कुनै अवरोध नरहने समेत दाबी गरे ।

उक्त अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले बोलेका थिए । एनआरएनए संरक्षक जीवा लामिछानेले स्काइपमार्फत मन्तव्य दिए ।

कार्यक्रममा बेलायत, बेल्जियम, नेदरल्याण्ड, आयरल्याण्ड, जर्मनी, जापान, डेनमार्क लगायतका देशहरुबाट समेत गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।

प्रकाशित समय : ११:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु