global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ निर्माण सामग्री बजार १५ दिनमा ५ पटक मूल्य वृद्धि

निर्माण सामग्री बजार १५ दिनमा ५ पटक मूल्य वृद्धि

निर्माण सामग्री बजार १५ दिनमा ५ पटक मूल्य वृद्धि

काठमाडौँ — उत्पादन लागत, क्लिंकर आयातमा समस्या, इन्धनको मूल्य बढेको लगायत बहाना बनाउँदै व्यवसायीले १५ दिनमै ५ पटक मूल्य बढाएको फेला परेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ‘निर्माण सामग्रीको मूल्य विश्लेषण प्रतिवेदन’ मार्फत यस्तो तथ्य बाहिर ल्याएको हो ।

सिमेन्ट र डन्डीहरूको मूल्य अस्वाभाविक रूपमा बढेपछि विभागले तीन टोली परिचालन गरेको थियो । चार्टर्ड एकाउन्टेटसहितको पहिलो अनुगमन टोली तराईका उद्योगमा परिचालन गरेको थियो । अर्को टोलीले तराईबाट उपत्यका भित्रिँदै गरेको ट्रक धादिङमा रोकेर सिमेन्ट/डन्डीहरूको बिल नियन्त्रणमा लिएको थियो ।

तेस्रो टोलीले खुद्रा हार्डवयर पसलमा गरेको अनुगमन गरेको थियो । यी तीनवटा टोलीले अध्ययन गरी तयार पारेको संयुक्त प्रतिवेदनमा ५ पटकसम्म मूल्य बढेको प्रतिवेदन तयार पारेको हो । ‘अध्ययनको क्रममा एक महिनाको अवधिमा ५ देखि १८ प्रतिशतसम्म मूल्य बढाएको देखिन्छ,’ विभागका अनुगमन अधिकृत निरोज घिमिरेले भने, ‘१५ दिनको अवधिमा ५ पटकसम्म मूल्य बढाएका छन् ।’

विभागका अनुसार हामाले मंसिरमा भ्याटसहित डन्डीको मूल्य ७७.९७ रुपैयाँ तोकेको थियो । पुस पहिलो साता बढाएर ८० रुपैयाँ २३ पैसा, पुस दोस्रो साता ८२ रुपैयाँ ४९ पैसा र पुस तेस्रो साता ८४ रुपैयाँ ७५ पैसा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ ।

शिवम् सिमेन्टले पुस १ गते प्रतिबोरा ७९०.०१ रुपैयाँ निर्धारण गरेको थियो । पुस ३ गते मूल्य बढाएर ८ सय ५, पुस ७ गते ८ सय २५, पुस १२ गते ८ सय ८० र पुस १६ गते मूल्य बढाएर ९ सय १० रुपैयाँ पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ । ‘ट्रक व्यवसायीले इन्धनको मूल्य वृद्धिको बहानामा अवैज्ञानिक रूपमा ५ प्रतिशतदेखि १८ प्रतिशतसम्म भाडा वृद्धि गरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘जसअनुसार प्रतिबोरा २० रुपैयाँसम्म भाडा वृद्धि गरेको देखिन्छ ।’

उद्योग अनुगमनका क्रममा मूल्य वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य वृद्धि भनिए पनि क्लिंकर आफैं उत्पादन गर्ने उद्योगले समेत मनोमानी मूल्य वृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ ।

उद्योगले गरेको मूल्य वृद्धि तथा भाडामा भएको मनोमानी मूल्य वृद्धिले हाल प्रतिबोरा १२० रुपैयाँ तथा डन्डीमा प्रतिकिलो १० रुपैयाँसम्म बढी मूल्य तिर्न उपभोक्ता बाध्य छन् । घिमिरेका अनुसार एक महिनाअघि मारुतीले प्रतिबोरा ७ सय ८० रुपैयाँमा बिक्री गरेको थियो । अहिले प्रतिबोरा ८ सय ३० रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिबोरा ६ सय ४० रुपैयाँमा बिक्री हुँदै आएको निर्माण सिमेन्टले हाल ७ सय २० रुपैयाँ तोकेको छ । ६ सय ५५ रुपैयाँ पर्ने अग्नि सिमेन्ट बढेर ७ सय २४ रुपैयाँ पुगेको छ । ७ सय ९० रुपैयाँ पर्ने शिवम् सिमेन्ट बढेर ९ सय १०, ७ सय ९५ रुपैयाँ पर्ने हेटौंडा सिमेन्ट ८ सय ९८ रुपैयाँ, ७ सय ५० रुपैयाँ पर्ने शालिमार ८ सय ७० र ६ सय ५० रुपैयाँ पर्ने अम्बे सिमेन्ट बढेर ७ सय ६० रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै ७८ रुपैयाँ पर्ने हामा डन्डी/छड अहिले बढेर ८४.४ रुपैयाँ, ७८.६ रुपैयाँ पर्ने साख ८२.३ रुपैयाँ, ८०.२ रुपैयाँ पर्ने जगदम्बा बढेर ८५.९ रुपैयाँ पुगेको प्रतिवेदनमा छ । मूल्य वृद्धि कृत्रिम भएकाले तत्काल फिर्ता लिनुपर्ने विभागका महानिर्देशक कुमार दाहालले बताए । मूल्य वृद्धि फिर्ता नभए कानुनी कारबाही गरिने उनले बताए ।

‘यसअघि व्यवसायीले विभागलाई उपलब्ध गराएको पत्रमा ७ प्रतिशत मात्रै मूल्य बढेको जनाएका थिए । तर, अध्ययन विश्लेषणले चर्को मूल्य (दोहोरो अंकमा मूल्य वृद्धि) असुलेको भेटिएको छ,’ उनले भने, ‘मूल्य तत्काल फिर्ता नलिए कानुनी कारबाही गर्छौं ।’ क्लिंकरको तयारीका लागि आवश्यक कच्चा पदार्थमध्ये चुनढुंगा र फलाम नेपालमै उत्पादन हुने भएकाले सम्बन्धित निकायबाट उल्लेखित कच्चा पदार्थको सहज व्यवस्थापन गरी क्लिंकर उत्पादनमा आत्मनिर्भर हुने वातावरण तयार गर्न सुझाव प्रतिवेदनमा छ । नेपाल सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गराउन विशेष प्राथमिकता दिनुपर्ने उल्लेख छ ।

हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट र अन्य क्लिंकर उत्पादन गर्ने क्षमता रहेका उद्योगलाई क्लिंकर उत्पादन गराउनका लागि सम्बन्धित निकायका तर्फबाट प्रोत्साहित गराउन आवश्यक देखिएको प्रतिवेदनले जनाएको छ । छडको प्रमुख कच्चा पदार्थका रूपमा रहेको ब्लेडको आयातमा सहज वातावरण सिर्जना गराउनुपर्ने, फयाक्ट्री मूल्य बढदा समग्रमा मूल्य बढ्ने हुँदा उद्योगीहरू नाफामूलक मात्र नभई न्यूनतम नाफा राखी हालको उत्पादन मूल्य कायम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । व्यवसायीले अस्वाभाविभक रूपमा मूल्य बढाएपछि विभागले सोमबार व्यवसायीसँग छलफल गरेको थियो । त्यसक्रममा व्यवसायीले मूल्य घटाउन तीन दिनको समय मागेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । उनले भने, ‘तीन दिनपछि फेरि अनुगमन गर्छौं ।’ व्यवसायीले मूल्य घटाउने प्रतिबद्धता गरे पनि कति घटाउनेबारे जानकारी दिएका छैनन् ।

प्रकाशित समय : ११:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु