nmb bank

गृहपृष्ठ ‘काठमाडौंका आधा मानिस प्रसूतिगृहमा जन्मेका हुन्’

‘काठमाडौंका आधा मानिस प्रसूतिगृहमा जन्मेका हुन्’

‘काठमाडौंका आधा मानिस प्रसूतिगृहमा जन्मेका हुन्’


स्वास्थ्य संस्था आएर प्रसूति गराउनुपर्ने ज्ञानको विकास हुन थालेपछि प्रसूतिगृहमा शिशु जन्माउने महिलाहरुको संख्या बढ्दो छ । स्वास्थ्य संस्थामा शिशु र आमाको ज्यान सुरक्षित हुने भएपछि धेरै महिलाहरु शिशु जन्माउनका लागि प्रसूतिगृहमै जाने गर्छन् । मुलुकभरका स्वास्थ्य चौकीहरुमा प्रसूति सेवा सञ्चालनमा छन् । यसले गर्भवती महिलाहरु नियमित रुपमा प्रसूतिगृह गई स्वास्थ्य जाँच गराउँछन् । गर्भवतीमा अवस्थामा कम्तीमा पनि चार पटक स्वास्थ्य परीक्षण गराउन प्रसूतिगृहमा जानुपर्ने हुन्छ । नियमित स्वास्थ्य संस्थाबाट प्रसूति सेवा लिएमा सरकारले प्रोत्साहन भत्ता दिँदै आएको छ । यसै बिषयमा केन्द्रीत रहेर काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका कार्यकारी निर्देशक डा. जागेश्वर गौतमसँग न्यूज कारोबारका संवाददाता सञ्जय श्रेष्ठले गरेको कुराकानी :

नेपालको सबैभन्दा ठुलो स्त्रीरोग अस्पतालको अवस्था कस्तो छ ?
– सरकारी अस्पतालमा दैनिक २ सय जनाको हाराहारीमा अल्ट्रासाउण्ड हुने नेपालको एकमात्र अस्पताल हो । यहाँको प्रसुतिगृहमा बार्षिकमा १९ हजार शिशुको जन्म हुन्छ । यहाँ दैनिक सात सयको हाराहारीमा गर्भवती महिलाहरु ओपिडीमा भर्ना हुन्छन् । भूकम्पपछि हामीलाई व्यवस्थापनमा समस्या भइरहेको छ । अन्य अस्पतालहरुको तुलनामा हेर्ने हो भने यहाँको प्रसुतिगृह अत्यन्तै राम्रो र सुविधाजनक छ ।

अस्पतालमा लापर्वाहीका घटनाहरु सुनिन्छन्, यहाँ त्यो अवस्था छ कि छैन ?
– यहाँको सिस्टम अत्यन्त राम्रो छ । यहाँ लापर्वाही गर्न कसैलाई छुट छैन । प्रसुतिगृहको कर्मचारी लापरवाही गर्दैनन् र मैले दैनिक यस्ता कुराहरुको नियमन गरिरहेको छु । सबैले जिम्मेवारीपूर्ण आफ्नो काम गरिरहेका छन् । यसमा कुनै समस्या छैन । यहाँका कर्मचारीहरुले त्यस्तो काम सोच्न पाउने व्यवस्था नै गरिएको छैन र हालसम्म त्यस्ता समस्याहरु देखिएका छैनन् ।

सरकारी अस्पतालप्रति सेवाग्राहीको चाहना कम भएकै हो ?
– मलाइ त्यस्तो लाग्दैन । किनभने यस्तो हुँदो हो त यहाँ यतिधेरै बिरामी आउने थिएनन् । मलाई एउटा मात्र प्राइभेट अस्पताल देखाइदिनुस्, जहा एक बर्षमा हजारौं बिरामी जान्छन् । हाम्रोमा १९ हजार शिशुले बार्षिकरुपमा जन्म लिइरहेका छन् । यो तथ्यलाई हेर्ने हो भने हाम्रो प्रसुतिगृहमा मात्रै होइन काठमाडौंका अन्य सरकारी अस्पतालमा कति शिशुहरुको जन्म भएको होला ? सरकारी अस्पतालप्रति बिरामीको चाहना र विश्वास नीजिको भन्दा बढी भएको चै हो भन्ने लाग्छ । यदी सरकारी अस्पतालप्रतिको बुझाई र विश्वास हुँदैनथ्यो भने आधा काठमाडौंको मानिस कसरी प्रसुतिगृहमा जन्मेका होलान् ?

प्रसुतिगृहका कर्मचारीहरु त्यहाँका सामानहरु व्यक्तिगत प्रयोजनका लागि आफुले लान्छन् भन्ने आरोप लाग्छ नि ?
– यो सबै गलत हो । तपाईलाई कसैले गलत सूचना दिएको छ । यसको पछाडी नलाग्नुस् । यदि यस्तो हो भने प्रमाण दिनुस्, त्यस्तो कर्मचारीलाई तत्काल कारबाही हुन्छ । प्रमाण नभएसम्म विश्वास गर्न सकिँदैन ।

अबको प्रसुतिगृह कस्तो हुन्छ ?
– प्रसुतिगृह अब अत्याधुनीक बन्दैछ । नयाँ भवन अबको एक बर्षमा सकिन्छ । हामीले भैसेपाटीमा रहेको भवनबाट पनि सेवा दिन थाल्दैछौं । एक दुई महिनापछि स्याटलाइट सेवा सुरु गर्दैछौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्दैछौं ।

प्रकाशित समय : १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु