nmb bank

गृहपृष्ठ  विद्यालयमा  हुने गोलीकाण्ड  सामान्य बन्दै

 विद्यालयमा  हुने गोलीकाण्ड  सामान्य बन्दै

 विद्यालयमा   हुने गोलीकाण्ड   सामान्य बन्दै

वासिङ्टन, फागुन ४ । अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ ।
यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ ।
अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको समाचार यहाँको पछिल्लो दुःखद समाचार हो ।
यसपछि अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकाका विद्यालयहरुमा ज्यान लिनेगरी भएका यस्तै दुःखद घटनाहरुको सूची सार्वजनिक गरेका छन् ।

उनीहरुले यसलाई अत्यन्तै दुःखद भन्दै यसको निराकरण नगर्ने होभने शिक्षण संस्थाहरु नै के कसरी सञ्चालन गर्ने हो भनेर सोच्नुपर्ने अवस्था आएको विश्लेषणसहितका समाचारहरु सम्प्रेषण गरेका छन् ।
स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो ।
यहाँ बन्दुक सजिलै उपलब्ध हुने कारणले गर्दा पनि यस्तो अवस्था आएको बताइन्छ । अमेरिकामा घर घरमा बन्दुक राख्नु पनि एउटा संस्कृतिजस्तै भएको छ । यसका कारण बन्दुक हमलाबाट हुने गरेका हत्याका घटनामा बृद्धि भइरहेको छ ।
कतिपय विश्लेषकहरुले यहाँको हत्या हिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको पनि अन्त्य हुनुपर्ने बताउने गरेका छन् । तर पनि सरकारी उच्च अधिकारी वा सत्तारुढ रिपब्लिकन पार्टीकै नीति निर्माताहरु बन्दुकमाथिको प्रतिबन्ध तत्कालै लगाउन सक्ने अवस्थामा छैनन् ।
यसले गर्दा विद्यालयजस्तो बालबालिका रहने र पवित्र स्थानमा पनि बन्दुकबाट हमला हुने र शिक्षा आर्जन गर्न पुगेका निर्दोष बालबालिकाहरु नै बन्दुकेहरुको शिकार हुने अवस्था आएको उनीहरुको भनाई छ ।

वास्तवमा यही दशकमै अमेरिकाका विभिन्न स्थानमा यस्ता हत्याका घटना भएका छन् । जस्तो कि सन् २००७ मा भर्जिनियामा भएको यस्तै गोलीकाण्डमा बन्दुकधारीले कम्तीमा पनि ३२ जनाको ज्यान लिएको थियो ।
त्यसैगरी सन् २०१२ मा पनि अमेरिकाको स्याण्डी हकमा एकजना बन्दुकधारीले यस्तै विद्यालयमा नै गरेको हमलामा परी २८ जनाको ज्यान गएको थियो । सो घटनामा मारिनेमा अधिकांश बालबालिका नै परेका थिए ।

त्यसैगरी गतवर्षको अक्टोबरमा भएको यस्तै बन्दुक हमलामा परी ६० जनाको ज्यान गएको घटना त विश्वव्यापी रुपमा नै निन्दनीय बन्यो ।

लास भेगासमा भएको सो हमलामा परी ६० जनाको ज्यानै गएको थियो भने अरु करिब ५०० जना नराम्ररी घाइते भएका थिए । यस घटना अमेरिकी इतिहासकै सबैभन्दा क्रुर र दर्दनाक मानिएको छ ।

क्रुजले स्वीकारे हत्या यसैबीच उक्त विद्यालयमा गोली हन्ने निकोलस क्रुज नाम गरेका विद्यार्थीले सो हत्याकाण्ड आफूले नै गरेको भनी स्वीकारेका छन् । उनलाई हिजो नै गिरफ्तार गरिएको छ ।

अमेरिकी प्रहरीले बुधबार उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको थियो । प्रहरीले उनको साथबाट गोली र बन्दुक पनि बरामद गरेको थियो ।
सोही विद्यालयका १९ वर्षीय पूर्व विद्यार्थी रहेका क्रुजले किन गोली हानेका हुन् भन्ने बारेमा भने केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती विद्यार्थीलाई यसअघि सो विद्यालयबाट निकालिएको खुल्न आएको छ । तर गोली हान्नुपर्नाको कारणको नजिक भने प्रहरी पुग्न सकेको छैन ।

उक्त विद्यालयबाट निष्कासनमा परेका ती विद्यार्थीले सोही रिस पोख्न यस्तो गरेको हुनसक्ने अनुमान प्रहरीको छ । तर यसको पुष्टी भने भइसकेको छैन ।
पहिलो प्राथमिकता विद्यालय सुरक्षा– राष्ट्रपति ट्रम्प यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताउनुभएको छ ।

उहाँले फ्लोरिडामा बुधबार भएको हत्याकाण्डपछि बिहीबार गर्नुभएको सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।
उहाँले विद्यालयमा देखिएको यो असुरक्षाको अवस्थालाई हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्नपाउने अमेरिकी बालबालिकाको अधिकारको संरक्षणका लागि सरकारले सक्दो प्रयास गर्ने बताउनुभएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले उक्त गोलीकाण्डमा परी ज्यान गुमाएका विद्याथीप्रति हिजो नै हार्दिक श्रद्धाञ्जलि व्यक्तगर्दै मारिएका बालबालिकाका परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो ।
आफ्नो ट्वीटर अकाउन्टमार्फत उहाँले बिहीबारै सम्प्रेषण गर्नुभएको सन्देशमा राष्ट्रपति ट्रम्पले कुनैपनि बालबालिका, शिक्षक वा अरू कसैले पनि अमेरिकी विद्यालयमा कहिल्यै असुरक्षित महसुश गर्न नहुने बताएका थिए।

महासचिव गुथ्रेस स्तब्ध

यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले उक्त गोलीकाण्डमा परी विद्यार्थीको ज्यान गएको घटनाले आफूलाई निकै स्तब्ध तुल्याएको बताए ।

उहाँले बिहीबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा सो जानकारी दिइएको छ ।

प्राप्त समाचारअनुसार उहाँले विद्यालयमा ज्ञान आर्जन गर्नजाने विद्यार्थीमाथि भएको यो हमलाको जुनसुकै शब्दले निन्दा गर्दा पनि थोरै हुन्छ भन्दै यसबाट आगामी दिनमा विद्यालय सुरक्षाको प्रत्याभूतिका लागि आग्रह गरेको छ ।

बालबालिका वा जो कोहीले पनि शान्तिपूर्वक बाँच्न वा विद्यालय जान पाउने अधिकार छ भन्दै त्यसको सम्मान गर्नु सबैको कर्तव्य भएको उहाँले बताए ।

रासस

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु