global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपालको जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउँछौंः पर्यटनमन्त्री अधिकारी

नेपालको जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउँछौंः पर्यटनमन्त्री अधिकारी

नेपालको जीडीपीमा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउँछौंः पर्यटनमन्त्री अधिकारी

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रबाट नेपालीको जीवनस्तर उकास्ने गरी सरकारले योजना बनाएको बताएका छन् । पर्यटनको माध्यमबाट गाउँघरमै रोजगारीको वातावरण बनाउने पूर्वाधार र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताउँदै पर्यटन क्षेत्रको विकासमा आवश्यक पर्ने क्षेत्रको सुधारका लागि काम गरिरहेको बताए ।
उनले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटनको योगदानलाई २५ प्रतिशत पुर्याउने गरी आफूले कार्ययोजना तयार गरेको बताए । म्याग्दी भ्रमण वर्ष–२०७५ को उद्घाटन गर्दै मन्त्री अधिकारीले ग्रामीण पर्यटन प्राथमिकतामा रहेको बताउँदै नेपाललाई समृद्ध बनाउन जिडिपीमा २५ प्रतिशत पर्यटनको क्षेत्रबाट योगदान दिने गरी पूर्वाधारसहित प्रचारप्रसार लगायत योजना बनाएको बताए । अहिले जिडिपीमा पर्यटनबाट जम्मा साँढे तीन प्रतिशत योगदान रहेको उनले बताए ।
‘सुखी नेपाली, समृद्ध नेपाल बनाउन पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, सम्भावना भएका क्षेत्रमा सरकारले पूर्वाधारमा प्राथमिकता दिन्छ,’ मन्त्री अधिकारीले भने । उनले आफूले मन्त्रालय सम्हालेपछि पर्यटन क्षेत्रलाई उकास्न कार्ययोजना बनाएको बताउँदै आफ्नो कार्यकालमा पर्यटन क्षेत्रमा ठूलै परिवर्तन हुने दाबी गरे । ‘जिल्लामा पूर्वाधार विस्तारमा निजी क्षेत्रसँग सहकार्य गरिने छ,’ स्थानीयकै लगानीमा अहिलेसम्म पर्यटकीय क्षेत्र चिनिएको छ,’ मन्त्री अधिकारीले भने ।
उनले एक वर्षभित्र पर्यटनको क्षेत्रमा केही न केही नयाँ परिवर्तनको महसुस हुने गरी नेपालको हवाईमार्गलाई सहज तथा ग्रामीण पर्यटनमा समेत पर्याप्त पूर्वाधार विस्तारमा प्राथमिकता दिने बताए । उनले पूर्वाधार विकासमा केन्द्र, प्रदेश र स्थानीय सरकारले विशेष ध्यान दिने र बाँकी निजी क्षेत्रको सहयोगमा पर्यटनको दिगो विकासको रुपरेखा बनाउने गरी मन्त्रालयले काम अगाडि बढाएको बताए ।
‘म्याग्दी जिल्ला पदमार्गको हब हो, सडकले पदमार्ग विस्थापित गर्ने प्रयासलाई स्थानीय समुदायले रोक्नुपर्छ,’ उनले भने । उनले पुराना पदमार्गको संरक्षण तथा नयाँ पदमार्गको पहिचान गरी स्थानीय तहबाट पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । उनले सन् २०२० मा नेपाल भ्रमण वर्षको योजना बनाइरहेको बताउँदै एकै वर्ष २० लाख पर्यटक भित्र्याउने तयारी सुरु भएको बताए ।
उनले भ्रमण वर्षका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइरहेको बताए । उनले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउँदै पोखरा, भैरहवा, निजगड विमानस्थलको कामसमेत अगाडि बढाउन देखिएका समस्या पहिचान भइसकेको बताए । उनले काठमाडौं बाहिर बन्न लागेका अन्तर्रा्ष्ट्रिय विमानस्थलको कामलाई तीव्रता दिने बताए ।
उनले पदमार्गलाई सुरक्षित बनाउन स्थानीय तहसँग सहकार्य गर्न समेत निजी क्षेत्रलाई अनुरोध गरेका छन् । मन्त्री अधिकारीले आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि पर्यटन क्षेत्रको विकास महत्वपूर्ण भएको बताए । उनले जिल्लामा रहेका पर्यटकीय क्षेत्रमा पूर्वाधार तथा प्रचारप्रसारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
उनले जिल्लामा हुने भ्रमण वर्ष नेपाल पर्यटन वर्षको पूर्व तयारी जस्तै भएको बताउँदै सरकारले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बताए । भ्रमण वर्षकै अवसरमा म्याग्दीका पर्यटकीय, धार्मिक लगायत महत्वपूर्ण क्षेत्रलाई समेटिएको सूचना केन्द्रको समेत मन्त्री अधिकारीले उद्घाटन गरे । जिल्लाका ६ वटै स्थानीय तहका पर्यटकीय सम्भावना बोकेका क्षेत्रसहित आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने गरी सूचना केन्द्र सञ्चालनमा ल्याइएको थियो ।
म्याग्दीमा एक वर्षमा घोरेपानी, पुनहिल, खोप्रालेक, महरेडाँडा, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्ग, सिंगा तथा भूरुङ–तातोपानी, टोड्के, भेडीओढार, भकिम्लीको स्वर्गाश्रम एवं बेलढुंगा, गलेश्वर, पुलहाश्रम, जगन्नाथ तथा गुफाको डाँडो, मालिका मन्दिर, निस्कोटको बराहताल, लभ्लीहिल, गुर्जाखानी, जलजला, ढोरपाटनलगायत स्थानहरु पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छन् । साथै भ्रमण वर्षमा स्थानीय उत्पादनको बिक्री वितरण र प्रचारप्रसार पनि गरिने भएको छ । विभिन्न जातजातिहरुको कला, संस्कृति पनि आकर्षक रहेको छ ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु