गृहपृष्ठ बीपीसीले ५ अर्ब २५ करोडको बोनस सेयर बाँड्ने
बीपीसीले ५ अर्ब २५ करोडको बोनस सेयर बाँड्ने
काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले (बीपीसी) ले आउँदो वर्षदेखि सञ्चित कोषमा रहेको रकमबाट वार्षिक थप २० प्रतिशतसम्म लगानीकर्तालाई बोनस सेयर दिने भएको छ । आउँदो आर्थिक वर्षदेखि सञ्चित कोषको रकम बर्सेनि लगानीकर्तालाई बोनस सेयरका रूपमा वितरण गरिने बीपीसीको अर्थ विभागका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । आगामी वर्षहरूमा औसत २० प्रतिशत हारहारीमा बोनस सेयर वितरण हुनसक्ने उनले जानकारी दिए । लगानीकर्तालाई बोनस सेयर वितरण गरेपछि कम्पनीको पुँजीगत आधार बलियो हुने उनको भनाइ छ ।
गत पुसमा २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको नयाँ निष्कासन (एफपीओ) जारी गरेपछि बीपीसीको सञ्चित कोष शतप्रतिशत बढेर ५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । सञ्चित कोषको रकमबाट बोनस सेयरबाहेक बर्सेनि हुने नाफाबाट नगद लाभांश र बोनस सेयर पाउने भएपछि बीपीसीका लगानीकर्तालार्इ फाइदा हुने भएको छ । चालू आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले बिजुली बिक्रीबाट मात्र ५३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए आयोजना निर्माण गरिरहेको छ । यस्तै ८ मेगावाटको चिनोखोला, १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
प्रकाशित समय : २१:३० बजे




















