global ime bank Long Banner Ad

गृहपृष्ठ ३० वर्षपछि मेलम्चीको सुरुङ ब्रेक थ्रु, चार महिनापछि पानी आउने

३० वर्षपछि मेलम्चीको सुरुङ ब्रेक थ्रु, चार महिनापछि पानी आउने

३० वर्षपछि मेलम्चीको सुरुङ ब्रेक थ्रु, चार महिनापछि पानी आउने


काठमाडौं । चर्चामा आएको करिब ३० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको सुरुङ ब्रेक थ्रु हुने भएको छ । खानेपानी मन्त्रालयका अनुसारसो आयोजनाको कुल २७ किलोमिटर सुरुङ छिचोलिने भएको हो ।
चर्चामा आएको लामो समयसम्म कहिले ठेकेदारले काम नगर्दा तथा कहिले स्थानीयको अवरोधका कारण रोकिँदै आएको सुरुङ निर्माणमा उल्लेख्य प्रगति हुन लागेको हो । मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाका अनुसार आज राती सुरुङ ब्रेक थ्रु भएको हो ।
सुरुङ खन्न थालेको सात वर्षपछि सुरुङ सकिन लागेको हो । सुरुङ निर्माण सकिए पनि आयोजनाबाट काठमाडौंमा पानी आउन अझै चार महिना समय लाग्नेछ । त्यसको पछाडिको खासकारण भनेको सुरुङको मर्मत तथा प्लास्टर नै हो । सुन्दरीजल सिन्धु र ग्याल्थुम खण्ड यसअघि नै सुरुङ निर्माण कार्य सकिइसकेको छ ।
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालको निर्वाचनको क्रममा मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने भन्दै भोट मागेका थिए । उनले २०५६ सालमा पुनः प्रधानमन्त्री हुँदा समेत सो आयोजनाको चर्चा गरेका थिए । आयोजनाका अनुसार सोमबार साँझसम्म आयोजनाको करिब ८ मिटरमात्रै सुरुङ खन्न बाँकी रहेको थियो ।
मेलम्ची खानेपानी आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको छ । सुरुङको ढलान तथा मर्मत गरेर छिट्टै काठमाडौंमा पानी ल्याउने योजनाका साथ काम भइरहेको निर्देशक देवकोटाले बताए । उनका अनुसार ठेकेदार परिचालनमा विशेष जोड दिइएको छ । छिट्टै सुरुङ मर्मत कार्य सकिन्छ र राजधानीमा मेलम्चीको पानी आउने सपना समेत पूरा हुनेछ ।
तीन भागमा विभाजन गरेर सुरुङ खनिँदै आएकोमा सोमबार राती भने ग्याल्थुम सिन्धु खण्ड ब्रेक थ्रु भएको हो । सुरुङ खन्ने काम प्राविधिक रुपमा सकिएपनि आयोजनाले यही चैत २९ गते बिहीबारमात्रै सार्वजनिक गर्ने जनाएको छ । आयोजनामा एसियाली विकास बैंकले ८ अर्ब ७४ करोड रकम ऋणवापत उपलब्ध गराएको हो ।
आयोजनाबाट प्राप्त हुने पानी काठमाडौं उपत्यकाबासीका लागि बरदान सावित हुने विश्वास लिइएको छ । लामो समय काकाकुल जसरी बस्दै आएका काठमाडौंबासीलाई सहज रुपमा खानेपानी सेवा दिन आयोजना प्रभावकारी हुने विश्वास लिइएको छ । लार्के र याङ्ग्रीको पानी समेत थप गरेर आयोजनाबाट उल्लेख्य रुपमा पानी ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु