global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सेयरमा नेगेटिभ सर्किट ब्रेक, बजार केही सम्हालियो

सेयरमा नेगेटिभ सर्किट ब्रेक, बजार केही सम्हालियो

सेयरमा नेगेटिभ सर्किट ब्रेक, बजार केही सम्हालियो


काठमाडौैं । सेयर बजारमा लगानी नगर्न भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको आग्रह र बजार अझै घट्ने प्रक्षेपणको नकारात्मक प्रभावका कारण नेगेटिक सर्किट ब्रेकर लगाइएको बजार १५ मिनेट स्थगन भई खुलेसँगै केही सुधार देखिएको छ ।
११ महिनाअघि बैंक र बिमा समूहको परिसूचकमा उछाल आएपछि पोजेटिभ सर्किट ब्रेकर लगाई बजारको उत्तेजक गतिलाई नियन्त्रणमा लिइएको थियो । ११ महिनापछि बजारमा नेगेटिभ सर्किट ब्रेकर लागेको हो । सोमबार कारोबार सुरु भएको एकघण्टामा बजार ३ प्रतिशत भन्दा बढीले घटेपछि नेगेटिभ सर्किट ब्रेकर लगाई कारोबार १५ मिनेटका लागि स्थगित गरिएको थियो । पहिलो एकघण्टामा ३६.८५ अंकले घटेको बजार त्यसपछि भने केही सम्हालिएर अगाडि बढिरहेको छ ।
नेप्से परिसूचक घटेर ११८३.५९ अंकमा सीमित भएको थियो । १५ मिनेट स्थगन गरी ११ः५५ मा खुुलेको कारोबारपछि भने केही सुधार भइरहेको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचकमा केही सुधार भई ११९३.२८ अंकमा पुुगेको छ । १४ करोड बढीको कारोबार भएको छ भने क वर्गका कम्पनीहरुमा उच्च बिक्री चाप देखिएको छ ।

के हो सर्किट ब्रेकर ? किन र कतिबेला लगाइन्छ ?
पूँजीबजारमा सोमबार ११ महिनापछि सर्किट ब्रेकर लागेको छ । दैनिकजसो पहिरो गइरहेको बजारमा सोमबार एकाएक तीव्र गिरावट देखिएपछि नेगेटिभ ब्रेकर लगाई बजारलाई नियन्त्रण गरिएको हो । बजार घट्दो क्रममा रहेकोले ‘सर्किट ब्रेकर’ शब्दावली फेरि एकपटक चर्चामा आएको छ । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा सक्रिय पार्ने भन्ने बिषय नबुुझेका हुन सक्छन् ।
सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य तथा समग्र बजारको उतारचढावलाई नियन्त्रण गर्न अपनाएको एक विधि हो । कुनै कम्पनीको सेयर मूल्य अघिल्लो दिनको अन्तिम मूल्यको १० प्रतिशभन्दा बढ्ने वा घट्ने स्थिति भएमा सो कम्पनीको कारोबार थप बढ्न तथा घट्न सक्दैन र त्यही १० प्रतिशत भित्र रहेर कारोबार गर्न सकिन्छ । यसको सुरुवात नेप्सेले २०६३ असोज १० गतेबाट गरेको हो ।

यसरी लगाइन्छ सर्किट ब्रेकर
समग्र सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई नियन्त्रण गर्न नेपाल स्टक एक्सचेञ्जले २०६४ असोज ६गतेदखि पूरै बजारमा सर्किट ब्रेकर लगाउन सुरु गरेको हो । सुरुमा नेप्सेले अंकका आधारमा कारोबार स्थगन गर्दै आएकोमा २०६५ भदौ ९ गतेदेखि भने प्रतिशतका आधारमा सर्किट ब्रेकर लगाउँदै आएको छ । जसअनुसार कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि पहिलो सर्किट ब्रेकर लगाई कारोबार स्थगन हुन्छ ।
पुनः कारोबार खुलेपछि परिसूचक ४ प्रतिशतले परिवर्तन भएमा दोश्रो पटक सर्किट ब्रेकर लाग्छ र कारोबार स्थगित गरिन्छ । दोश्रो सर्किट ब्रेकर लगाएपछि ३० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि खुलेको बजार परिसूचक ५ प्रतिशतले परिवर्तन भएमा सो दिनको बाँकी कारोबार नै स्थगन हुन्छ ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु