गृहपृष्ठ ‘सुन काण्डमा प्रहरी : प्रवृत्ती कि बाध्यता’ पूर्व डिआइजीसँगको विशेष कुराकानी
‘सुन काण्डमा प्रहरी : प्रवृत्ती कि बाध्यता’ पूर्व डिआइजीसँगको विशेष कुराकानी
३३ किलो सुन प्रकरण अहिले देश विदेशको चर्चाको विषय भएको छ । अपराधिलाई कठघरामा उभ्याएर सजाय दिलाउनुपर्ने दायित्व भएको प्रहरी अधिकारी बर्दीमै कठघरामा उभिएको विषय निकै पेचिलो बनेको छ । विगतदेखि नै ठूलो परिणाममा अवैधरुपले सुन आउन थालेपछि हरेक प्रकरणमा प्रहरी मुछिएको छ । सामान्तया जवान वा तल्लो अधिकारी सजायको भागिदार हुने तर निर्देशन दिने अधिकारी उम्कने देखिएकोमा अहिले उच्च अधिकारी पनि सुनकाण्डमा समातिएका छन् । सुन काण्डमा पटक पटक किन पर्छन् प्रहरी अधिकारी, किन सुधार हुँदैन प्रवृत्ति लगायतका विषयमा पूर्व डिआइजी केशव अधिकारीसँग गरिएको कुराकानी :
नेपाल प्रहरीका विषयमा धेरै नकरात्मक टिप्पणी आएका छन् । यस्तो टिप्पणी र आलोचना आइरहदा लामो समय नेपाल प्रहरीमा बसेर काम गरेको र महत्वपूर्ण भूमिकामा रहेको तपाईलाई कस्तो लागेको छ ?
– अहिले नेपाल प्रहरीका विषयमा नकरात्मक खबर सुन्दा हेर्दा वा पढ्दा लज्जाबोध त हुन्छ नै । लज्जाबोध यसकारण पनि हुन्छ की नेपाल प्रहरी यो समयसम्म आएको ६३ वर्ष भएको छ । २०१२ सालको प्रहरी ऐनले डोर्याएको अहिलेको आधुनिक प्रहरी हो ।
यसले समाजलाई यतिधेरै अनुकरणीय देनहरू दिएको छ । नागरिकहरूसँग भिजेको छ । समस्या बुझेर सेवा दिने सवालमा सक्रियता देखाएको निकायमा प्रहरीहीमा केही औलामा गन्न सकिने अधिकृतहरुको कारण नेपाल प्रहरीको छवि धमिलिएको छ । यसमा निकै दुख लाग्छ ।
अर्को कुरा मलाई गर्व लाग्छ, कि एउटा बाबुलाई छोराले घरायसी समस्या होस् या केही कारणले होस् घाटी थिच्न जाँदा वा पिट्दा एउटा अभिभावकले आफैले जन्माएको छोराबाट असुरक्षित महशुस गरेर प्रहरीलाई सम्झन्छ त्यो बेला यो पेशासँग जोडिएकोमा गर्व पनि लाग्छ ।
३३ किलो सुन प्रकरणमा प्रहरीका मुख्य अधिकारी नै संलग भएको खबर आउनु र पटक पटक यस्ता विषयमा प्रहरीको कनेक्सन हुनुलाई कसरी हेर्ने ?
– प्रहरी निकै चर्चामा छ, सुन प्रकरणलाई लिएर । अलिकति विगतमा गयौ भने २०४२ सालदेखि अलि ठूलो मात्रामा सुन भित्रने क्रम सुरू भएको इतिहास छ । सुर्खेतका राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर त्यो बेलाका सुन बुढाको नामले चर्चित थिए । उनले २२ किलो सुन लिएर आउदा समातिए । यो क्रम २०४३ सालमा पनि भयो, २०४४ सालमा पनि भयो । टिवी लामा, भरत गुरुङ लगायतका व्यक्ति मुछिनु भयो । यो प्रकरण अहिले यहाँसम्म आएको छ । यस विषयमा प्रहरीलाई उचालिएको छ नि पञ्चायतकालदेखि अहिलेसम्म प्रहरीलाई प्रयोग मात्रै गर्ने काम भएको छ ।
किन भएको छ भन्दा केही बुझ्न आवश्यक पनि छ । अहिले एयरपोर्टमा विभिन्न संघसंस्था गरेर प्रहरीका चार अंग, नेपाल प्रहरी, इमिग्रेस, भन्सार र एयरलाइन्ससमेत गरेर गरेर १५० भन्दा बढी संघसंस्थाहरु कार्यरत छन् । यो सर्वसाधरणलाई थाहा छैन । १५० संस्था संलग्न भएको स्थानमा नेपाल प्रहरीमात्र सिंगो संस्थाको प्रतिनिधित्व त्यहाँ हुँदैन । जहाँसम्म सुनभित्र लुकाईछिपाई ल्यायो भन्ने कुरा छ हो प्रहरीको मिलेमतो भएन भनेपनि सुन ल्याउन सम्भव छैन त्यो कुरा सही हो । तर प्रहरीको मात्रै नाम किन आयो ।
भन्सारको प्रक्रिया पुरा नगरी भन्सारको बाटो नभइ यो सुन आउँछ कुन बाटो अथवा अर्कै बाटो आयो भने भन्सारको कर्मचारीलाई इमिग्रेसनको कर्मचारीलाई थाहा हुदैन ? सबै थाहा हुन्छ । आजभन्दा १५ वर्षअघि गृह र अर्थमन्त्रलायका अधिकृतबाट सुन तस्कर गरी व्यापार भयो भनेर संयुक्त संसदीय टीम पनि बनेको थियो । त्यो टीमले नेपाल प्रहरी, शसस्त्र प्रहरी गुप्तचर लगायत विभिन्न संससंस्थाहरु यो कर्ममा संलग छैनन्, संलग व्यक्तिलाई कारबाही हुनुपर्छ भनेर प्रतिवेदन दिएको छ, त्यो प्रतिवेदन गृह मन्त्रलायमा थन्काइयो ।
नेपाल प्रहरीलाई मात्रै बढी मुछियो भन्नेमा तपाईलाई चिन्ता हो त्यसो भए ?
– छ जना प्रहरी १३ जना टिआइएका कर्मचारी, तीन जना व्यापारी र छ जना अन्य गरेर यति व्यक्तिलाई प्रक्राउ गरेको देखिएको छ । ३४ व्यक्ति फरार सूचीमा छन्, जम्मा ६२ जनामाथि मुद्दा दायर भएको छ । छ जनामात्रै प्रहरी छन्, बाँकी त्यति धेरै छन् अन्यका विषयमा किन चासो भएन । तर छ जना प्रहरीको मात्रै बजारीकरण तथा प्रचार भएको छ प्रहरीमाथि चोर डाका हो, यो देशमा अरु सबै ठिक छन् भन्ने ठ्वाङ्ग बजाइदैछ ।
जहाँ बढी विश्वास हुन्छ, त्यही बढी हेरिन्छ नि होइन ?
– त्यो हो म मान्छु । एउटा प्रहरीको संस्थामा मैले लामो समय विताएको हुँदा मेरो पनि जिम्मेवारी छ । मैले सबै ठिक छन् भन्न खोजेको हैन । प्रहरी संलग भएको कारणले गर्दा प्रहरीका ठूला अधिकारी पनि हिरासतमा छन् । तर प्रहरी मात्रै एक्लो संलग्न छैन । अर्बौ रुपैयाँको लगानी छ सुनमा । खै मुख्य लगानीकर्ताहरु समातिएको ? २०४२ सालदेखि अहिलेसम्म र त्यो भन्दाअघि विभिन्न समयमा त्यति सुन पक्राउ परेको अवस्था छ । २०५४ सालको इतिहास हेर्ने हो भने त्यो बेला सरकारको तालुकवाला व्यक्तिले के गरेनन् त्यहाँ एयरपोर्टबाट । प्रहरीलाई प्रयोग मात्रै भएको छ । मैले भन्छु मुहान सफा भयो भने बग्ने पानी त्यसै सफा हुन्छ ।
जहाँबाट प्रहरीयो हुन्छ भने पनि उनीहरु प्रयोग नभए हुँदैन ?
– यो राजनीतिक हस्तक्षेपको प्रभाव हो । प्रहरी अधिकृतहरुले जसले आफ्नो करियर सफा छ म नेतृत्वसम्म पुग्ने व्यक्ति हो भनेर हैसियत राख्छ, बोल्छ र मिडियामा आउँछ । त्यस्ता व्यक्ति हेडक्वाटरमा लुकेर बस्छन् र बस्नुपर्ने बाध्यता छ । राजनीतिक सम्झौता नगरी प्रहरी अधिकारीलाई टिक्न समस्या छ । तर, सम्झौता गर्ने वित्तिकै विवाद आउँछ । विवादमा आएपछि करिअरमा दाग लाग्ने भयो भन्ने सोच्छ । त्यो हिसावले पनि प्रहरी अधिकृतहरु लुकेर हेडक्वाटरमा बस्छन् ।
लाइन एजेन्सीमा पठाउनै नहुने प्रहरी अधिकृतले त्यो भूमिका पाएका छन् । त्यसकारण पनि प्रहरीले आफ्नो नैतिक आचरण सफा राख्न सकेन । एयरपोर्टको प्रकरणमा मैले प्रहरीको तारिफ गर्न खोजेको छैन । तर जति पनि अधिकारी पक्राउ परेका छन्, अनुसन्धानमा राम्रो करिअर भएका प्रहरी अधिकारी पनि मुछिएका छन् । अर्को कुरा राज्यको निगरानी गर्ने निकायभित्र सम्पूर्ण सूचना थियो । २०१७ सालमा जति पनि बैकिङ कारोबारमार्फत सुन बजारमा आयो त्यो त्यति बिकेन । तर बजारमा सुनको हाहाकार पनि भएन व्यापार पनि राम्रै भयो ।
२०७४ सालको महालेखा परिक्षकको वार्षिक प्रहरी प्रतिवेदनले के भनेको छ भने बैकिङ कारोबारबाट आएको ५.१४ प्रहरीतिशत मात्रै खरिद भएको देखिएको छ । बाँकी शत प्रहरीतिशत सुन अवैध कारोबारबाट आएको छ । के यो राज्यको अनुसन्धानभित्र पर्नु पर्दैन्थ्यो । २०६९ सालमा सुन तस्करीकै विषयमा छानविन गर्न बनेको समितिमा यी व्यक्तिहरू संगठित अपराधमा लागेका छन् भनेर रिपोर्ट दिएको छ । खै त के काम भयो ।
नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारीसँग गरिएको भिडियो कुराकानी :
जतिलाई दोषी देखाइएको छ, उनीहरुलाई कारबाही नगर्दा समस्या भएको हो भन्न सकिन्छ ?
– यो त हो नै । तर अर्को कुरा पनि प्रहरीले मेहनत गर्छ, अनुसन्धान गर्छ, सरकारी वकिलको कार्यलयमा उजुरी बुझाउँछ, त्यहाबाट अभियोजन हुन्छ, त्यहाँ बस्तुनिष्ठ प्रहरी प्रमाणको आधारमा मुद्दा चलाउन नसकिने भनेर छोडिन्छ । अर्को मुद्दा चल्यो, अदालतमा आउने फैसलामा पनि न्यायवृत्त प्रभावित भएको शंका गर्न सकिन्छ । केही समयअघि २२ केजी सुन चीन नाका हुँदै काठमाडौं आयो ।
त्यसमा सिन्धुपाल्चोको एक जना गाविस अध्यक्षको नाम पनि आयो उनलाई मुख्य अभियुक्त बनाएर १२ जनाविरुद्ध अदालतमा मुद्दा पेश भयो । तर एउटा चालकमात्रै पुर्पक्षको लागि हिरासतमा गयो । अन्य बाँकी ११ जना त्यो सुन आफ्नो भनेर सकार नगरेको भन्दै सामान्य धरौटीमा छुटे । अब प्रहरीले कति दुख गरेर अदालतसम्म जाने बाटो बनाउँछ, अनि प्रमाणको अभाव भयो वस्तुनिष्ठ प्रमाण भएन भनेर टिप्पणी उठाएर अधियुक्तलाई छुटाएको देखिएको छ ।
अब के होला, यो प्रकरण अहिले पनि यत्तिकैमा सेलाउँछ जस्तो लाग्छ ?
– हैन यो प्रकरणमा सनम शाक्य लगायतका तीन जनाको हत्याको कुरा पनि जोडिएको छ । राज्य अलिकति संवेदनशिल पनि भएको छ । अब अहिलेको अवस्थामा वर्तमान प्रधानमन्त्रीबाट छानविन टोलीलाई कोही पनि व्यक्ति उम्कन हुँदैन राम्रोसँग छानविन गरेर अघि बढ्न निर्देशन भएको छ । त्यसैले पनि निष्कर्शमा पुग्ला भन्न सकिन्छ ।
यस्ता निर्देशन त पहिले पनि त आउथे नि हैन ?
– अब राष्ट्रिय चासो र चिन्ताको विषय भएको छ । त्यसले गर्दा यो अवस्था विलिन भएर जालाजस्तो लाग्दैन । अर्को कुरा राज्य संयन्त्र अनुसन्धानका निकायहरू प्रहरी मात्रै हैन, भन्सार इमिग्रेसन किन संवेदनशिल नभएको ? एउटा विष्णु सुवेदी भन्ने व्यक्ति १७ महिनाको बीचमा १०८ पटक काठमाडौं दुबई आवतजावत गरे । अर्को सन्तोष काफ्ले भन्ने व्यक्तिले १७ महिनामा १९ पटक काठमाडौं दुबईको यात्रा गरे । यिनीहरुको ट्राभल रेकर्ड इमिग्रेसनले हर्ने की नहेर्ने वा हेर्नै नपर्ने ? यीनको कनेक्सन के हो ? ट्राभल पछाडिको कनेक्सन के हो ? त्यो पनि कोट्याउने कसैले जागर नै देखाएन ।
अहिले पनि गोरे लगायतका व्यक्तिलाई खोजिएको छ, सर्वाधिक खोजीको सूचीमा राखिएको छ, तर खोजी गरिएको भन्दै गर्दा कतिले संरक्षण पनि त पाएका छन् नि ?
– अब जुन निकायलाई जे जिम्मेवार सुम्पेको छ । वैल पावरका साथ काम गर्ने हो भने निकास पाउँछ । अनि आफू फसिसकेपछि उनीहरूलाई परिचालन गर्ने व्यक्तिको नाम किन नलिने ? सुडान काण्ड होस कि जेहोस हामीलाई त सबै थाहा छ, परिचालित भएका व्यक्ति पनि फसे । अहिले पनि कोही कोहीले आफ्नो फल पाए पनि धेरै फसेको हुन् । त्यसैले परिचालित व्यक्तिको नाम दिनुपर्छ ।
यसरी नाम भन्न नकस्नुको पछाडि के कारण होला ?
– २०४९ सालमा त्यसबेलाका प्रहरी महानिरीक्षकलाई ३० र ३२ को खेलमा हटाइयो । उहाँभन्दा सकेण्ड म्यानलाई ल्याउनको लागि अनि हट्नु भयो । एक जना आइजी भएको १६ दिनमा हट्नुभयो, त्यो इतिहास छ । त्यसको भूतले प्रहरी महानिरीक्षक लगायत उपल्लो दर्जालाई सताइरह्यो । सपनामा पनि त्रास दिइरहयो त्यसकै कारण प्रहरी प्रभावमा परिरहेको छ । राजनीतिक नेतृत्वको साथ नजाने हो भने हाम्रो सरुवा बढुवा सबै खत्तम हुन्छ भन्ने भूतले सताएको कारण भएको हो । अहिले आएर यो सिनको कटाक्ष भने भएको छ ।
प्रकाशित समय : १८:३३ बजे



















