nmb bank

गृहपृष्ठ राष्ट्रपति निर्वाचन : भण्डारीको मत भार अधीक

राष्ट्रपति निर्वाचन : भण्डारीको मत भार अधीक

राष्ट्रपति निर्वाचन : भण्डारीको मत भार अधीक


काठमाडौं । राष्ट्रपतिको चुनावमा एमाले र माओवादीकी साझा उम्मदेवार विद्यादेवी भण्डारीले जित्ने त निश्चित छ नै, तर उनले प्राप्त गर्ने मत भार नेपाली कांग्रेसका उम्मदेवार कुमारी लक्ष्मी राईको भन्दा अधीक हुने संसदीय गणितले देखाएको छ । राष्ट्रपतिको चुनावमा संघीय संसदका कुल ३३४ सांसदहरु र प्रदेशसभाका ५५० सांसदहरु मतदाता रहन्छन् । तर, केन्द्रीय संसद र प्रदेशसभाका सांसदहरुको मत भार भने फरकफरक हुन्छ ।
संघीय संसदका एक सांसदको मत भार ७९ हुन्छ भने प्रदेश सांसदको मत भार ४८ तोकिएको छ । अर्थात एकजना संघीय सांसदले हालेको भोटलाई ७९ मत मानिने छ भने प्रदेशसभाका एकजना सांसदको मतलाई ४८ मत मानिने छ । प्रतिनिधिसभामा हाल २७५ जना सांसद छन् भने राष्ट्रियसभामा ५९ सांसद छन् । तर, प्रतिनिधिसभा सदस्य रेशम चौधरी टीकापुर घटनामा संलग्न भएको अभियोगमा जेलमा छन् भने राष्ट्रियसभामा मनोनित तीन सदस्यले सपथ लिन पाएका छैनन् ।
त्यसैले यसपटक राष्ट्रपतिको निर्वाचनमा संघीय संसदका कुल ३३४ सदस्यमध्ये ३३० ले मात्रै मतदानमा भाग लिनेछन् । र, उनीहरुको कुल मत भार २६ हजार ७० हुनेछ । त्यस्तै सातवटा प्रदेशमा कुल ५५० प्रदेशसभा सदस्य छन्, उनीहरु मध्ये दीपक मनाङ्गेले भोट हाल्न पाउँदैनन् । यसो गर्दा प्रदेशसभाका ५४९ जनाले राष्ट्रपतिको चुनावमा मतदान गर्छन् । र, उनीहरुको कुल मत भार २६ हजार ३५२ हुनेछ । संसद र प्रदेशको गणित हेर्दा राष्ट्रपतिको चुनावमा विद्यादेवी भण्डारीले अत्यधीक मतका साथ जित्ने देखिन्छ ।
किनभने, संघीय संसद र प्रदेशबाट एमाले र माओवादीको मत भार जोड्दा ३३ हजार ६७५ पुग्छ । संघीय फोरम र राजपा लगायत केही साना दलले पनि भण्डारीलाई नै मत दिने अवस्था छ । जबकि कांग्रेसको कुल मत भार ११ हजार ४२८ मात्र छ । संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) मा एमालेका कुल १४८ सांसद छन् भने प्रदेशसभा सदस्यहरु २४३ जना छन् । यी सबैको मतभार २३ हजार ३५६ पुग्छ । यसमा माओवादीको १० हजार ३१९ मतभार जोड्दा विद्या भण्डारीले पाउने मतभार ३३ हजार ६७५ पुग्छ ।
यसमा राष्ट्रिय जनमोर्चा र मधेस केन्द्रित दलको पनि मत थपिने अनुमान छ । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुको केन्द्र र प्रदेशको कुल मत भार १ हजार ३५५ मात्रै छ । त्यो मत सबै कांग्रेसतिरै जाँदा पनि कांग्रेसले राष्ट्रपतिको चुनाव जित्ने कुनै गुञ्जायस छैन । तर, त्यो मत बाँडिन सक्छ । केन्द्र र प्रदेश संसदमा गरी नेपाली कांग्रेसको कुल मत भार ११ हजार ४२८ मात्र छ । यसमा राजपाको २८४५ र फोरमको ३१९८ मत भार थपियो भने पनि कांग्रेसले एमालेलाई कट्ने अवस्था छैन । किनभने एमाले र माओवादीको मत भार ३३ हजारभन्दा माथि छ ।

प्रकाशित समय : १४:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु