गृहपृष्ठ चुरे संरक्षणले तरार्इ मधेसको समृद्धि
चुरे संरक्षणले तरार्इ मधेसको समृद्धि
सन्दर्भ : चुरे दिवस
तराई मधेसको सुरक्षा कवचको रुपमा रहेको चुरे क्षेत्रको संरक्षणमा सरोकारवाला निकायहरुले चासो व्यक्त गरिरहेका छन् । सरकारले पनि चुरे क्षेत्रको विकासले नै तराई मधेसको समृद्धि हुने बताइरहेको छ । तर, चुरे क्षेत्रको संरक्षणमा सबै सरोकारबाला चुकिरहेका छन् ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले आफ्नो स्थापना दिवसको अवसरमा चुरे क्षेत्रामा नै विशेष कार्यक्रम गरी मनाउँदै आएको छ । ‘चुरे संरक्षण हाम्रो कार्यभार, बनाऔं यसलाई समृद्धिको आधार’ भन्ने नाराका साथ यस वर्षको चुरे दिवस शनिबार मनाइरहेको समितिका सदस्य विदुर भारतीले जानकारी दिए । ‘चुरे क्षेत्रलाई कसरी दिगो रुपमा संरक्षण गर्न सकिन्छ ? भन्ने विषयलाई गम्भीर रुपमा लिएर हामीले कार्यक्रम सञ्चालन गर्दै आएको छौं,’ उनले भने, ‘यसबाहेक चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई, चुरे रहे पानी, पानी रहे हामी नाराका साथ वर्षैभर चुरे संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।’
चुरे क्षेत्रका ३६ जिल्लामा वृक्षारोपण तथा वन संरक्षणका गतिविधि सञ्चालन गरिने समितिले जनाएको छ । समिति सदस्य भारतीका अनुसार समितिले शनिबार कपिलवस्तुको बाणगंगामा १० बिघामा वृक्षारोपण गरेको छ । महाभारत पर्वत शृंखलाको दक्षिणी सिमानाबाट तराई मैदानको उत्तरी सिमाना बीचको होचो डाँडा र पर्वत शृंखलालाई चुरे भनिन्छ ।

नेपालको कुल भूभागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्छ । पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु चुरे क्षेत्र भई तराईतर्फ बग्ने भएकाले प्राकृतिक रुपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ । पछिल्लो समय चुरेको वन विनास, ढुंगा गिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्र जोखिम परेको छ ।
चुरे संरक्षणका लागि आर्थिक वर्ष २०६७/६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको थियो । चुरेको ढुंगा र बालुवा भएको जमिनबाट भित्र छिरेको पानी भावरमा भएको चिम्ट्याइलो माटोले छेकेपछि बल्ल जमिनमाथि पानी आउने भएकाले तराईको सिँचाइ समस्या समाधानका लागि चुरे संरक्षण महत्वपूर्ण रहेको समितिका अध्यक्ष वीरेन्द्र यादव बताउँछन् ।
चुरेका साथै तराई मधेसका जनताले यो क्षेत्रको संरक्षण गरेमा आफ्नो क्षेत्रमा समृद्धि आउने उनले बताए । जमिनमा पानी छिर्ने र प्राकृतिक रुपमा जमिनमा पानी रिचार्ज गर्न नसक्ने अवस्था मानिसले नै सिर्जना गरेको समिति सदस्य भारतीले बताउँछन् । ‘अहिले चुरेबाट बगेर तलतिर जाने खोलाको चौडाइ धेरै बढेको छ,’ उनले भने, ‘पूर्वदेखि पश्चिमसम्म नै यो क्रम जारी छ । पर्सा वन्यजन्तु आरक्ष र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने खोलाबाहेक अन्त सबैतिरका खोलाले आफ्नो चौडाइ बढाएका छन् ।’
प्रकाशित समय : २२:१० बजे




















