गृहपृष्ठ प्रधानमन्त्री अाेलीकाे हिजाेकाे बास ल्हासाकाे गाउँमा !
प्रधानमन्त्री अाेलीकाे हिजाेकाे बास ल्हासाकाे गाउँमा !
छ दिने औपचारिक चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल फर्कदै छन् । भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा पुगेको उनले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै त्यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरे ।
त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटा लाविच भेटवार्ता भएको छ । उनीहरु दुई सरकारबीच सहयोग आदानप्रदान गर्ने विषयमा सहमति भएका छन् । ल्हासा झरेकै दिन प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो भने त्यसको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष छिट लाबीच वार्ता भयो । यो वार्ता नेपालको उत्तरी भू–भाग १४१४ किलोमिटर क्षेत्र यसै तिब्बतसँग जोडिएकाले सीमा क्षेत्रका विविध विषयमा विचार विमर्श भएको छ ।
त्यसैगरी बेइजिङमा भएको यातायात प्रोटोकलसम्बन्धी सम्झौताका विषयमा पनि महत्वपूर्ण कुराकानी भएको थियो । प्रधानमन्त्री ओलीले यस सम्झौताबाट नेपाल र नेपालीले व्यावहारिकरुपमा फाइदा उठाउन सक्ने विश्वाससमेत व्यक्त गरेका छन् । तिब्बेतियन संस्कृतिको झाँकी र परम्परासहित प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल पुगेको सरकारका उपाध्यक्षले त्यहाँस्थित महावाणिज्य दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागि भएका थिए ।
प्रधानमन्त्री ओलीले त्यहाँका विश्वविद्यालयका प्राध्यापकसँग पनि भेटवार्ता गरेका छन् । उनले दुई सरकारबीचको सम्बन्ध र शैक्षिक क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गरेका छन् । भ्रमणका क्रममा त्यहाँस्थित महावाणिज्य दूतावास पुगेर प्रधानमन्त्री ओलीले त्यहाँको वस्तुस्थितिको जानकारी लिए । त्यहाँ भएका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताएका छन् । महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपालको सबैभन्दा पुरानो नियोगमध्येको ल्हासा वाणिज्य दूतावास भएको भन्दै तिब्बत सरकारसँग नेपालको मात्र नियोग रहेको जानकारीसमेत गराए ।
पुस्ताैंदेखि तिब्बतमा बस्दै आएको नेपालीले वाणिज्य दूतावास पुगेर आफ्ना गुनासासमेत राखे । उनीहरुले दुवै देशको नागरिकता नहुँदा घर न घाटको भएको भन्दै गुनासा राखे । उनीहरुले तिब्बतमा बसोबास तथा व्यापार गर्ने एकमात्र आधार रहेको १० वर्षे हस्तलिखित राहदानीलाई मेशिन रिडेवल पासपोर्ट(एमआरपी) बनाई दिन अनुरोध समेत गरे ।
नेपाली दुःख निवारण कोषका अध्यक्ष्य कुन्जो धार्के नेपालीले भने, ‘सन् २०२० देखि हस्तलिखित पासपोर्ट चल्दैन, त्यसपछि हामीलाई समस्या हुन्छ, हामीसँग भएको १० वर्षे हस्तलिखित राहदानीलाई एमआरपी बनाई दिनुहोस् ।’ तिब्बतमा हाल करीब १५० जना नेपाली यस्ता छन् । जसका बाबु आमामध्ये एक जना नेपाली र एकजना तिब्बती छन् । हालसम्म न नेपाली नागरिकता न चिनियाँ नागरिकता नै । यहाँ यस्ता नेपालीलाई खचरा पनि भनिन्छ ।
त्यसैगरी प्रधानमन्त्री ओलीले ल्हासाको छु सोइ काउन्टीमा रहेको चाइना नेसनल मोर्डन एग्रीकल्चर पाइलट जोनको अवलोकन गरे । उनले त्यहाँको आधुनिक कृषि पद्धतिका विषयमा जानकारी लिए । त्यहाँका कृषकले उनलाई फार्ममा उत्पादन गर्ने कृषिउपजबारे जानकारी गराएका थिए ।
त्यसलगत्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष निगरानीमा चलाइएको फोर सिजन ह्याप्पी भिलेजमा गएर करीब आधा घण्टा बिताए । उनले त्यस भिलेजमा बसोबास गर्ने जनता र सञ्चालन विधिबारे जानकारी समेत लिए । यो भिलेजमा घरबार नभएका र उच्च हिमाली क्षेत्रमा बस्ने तिब्बेतियन नागरिकलाई बसोबास र रोजगारीको व्यवस्था गरिएको छ । यस गाउँमा चीनको उच्च नेताले भ्रमण गर्दै आएका छन् ।
प्रधानमन्त्री ओली स्थानीय थिएटरमा सञ्चालन गरिएको नाटकको अवलोकन गरे । उक्त नाटकमा स्रोङक्रोङ गम्पोको विवाहको कथा वस्तु समेटिएको थियो । यसरी प्रधानमन्त्री ओलीको ल्हासा बसाईले नेपाल सरकार र तिब्बत सरकारबीचको द्विपक्षीय परम्परागत ,ऐतिहासिक, सांस्कृतिक तथा व्यावहारिक सम्बन्धलाई थप उचाइमा पुर्याएको छ ।
प्रकाशित समय : १४:४७ बजे



















