गृहपृष्ठ कर्णाली सरकारको नीति तथा कार्यक्रम : भाङ्गोको तेलदेखि केबुलकार र सुरुङसम्म
कर्णाली सरकारको नीति तथा कार्यक्रम : भाङ्गोको तेलदेखि केबुलकार र सुरुङसम्म
कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार बसेको एघारौं बैठकले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका प्रमुख दुर्गाकेशर खनालले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
नीति तथा कार्यक्रममा भाङ्गोको तेल उत्पादनदेखि केबुलकार र सुरुङमार्गसमेतका कार्यक्रम ल्याइएको छ । कृषिलाई प्राथमिकता दिँदै कृषि उत्पादनलाई बढवा दिने र कर्णाली प्रदेशको भौगोलिक अवस्थितिलाई ध्यानमा राखी केबुलकार र सुरुङमार्गका कार्यक्रम कर्णाली सरकारले ल्याएको छ ।
भाङ्गो, ओखर, खमु, चुली, जैतुनलगायतका वस्तुहरुको तेल उत्पादन गरी निर्यात बढाउने योजनासहितको नीति तथा कार्यक्रम सरकारले सार्वजनिक गरेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने ग्रेट हिमालयन ट्रेलको कर्णाली प्रदेशमा पर्ने खण्डलाई सर्वेक्षण गरी पर्यटकीय पदमार्गको रुपमा विकास गर्ने र कर्णाली प्रदेशको राजधानी सुर्खेत–गोठिकाँडा– सिद्धपाइला र पहाडी तथा हिमाली जिल्लामा केबुलकारको सम्भाव्यता अध्ययन गर्ने नीति कर्णाली सरकारले लिएको छ ।
सरकारले सडक मार्गमा नजोडिएको जिल्लामा सडक पुर्याउने र जमुनाह–हिल्सा, रानीघाट–बर्दियाको भुरीगाउँ, जाजरकोटको मुल्सादेखि जुम्लाको टोप्लासम्म सुरुङमार्ग निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । गरिबलाई भत्ता र रोजगारलगायतका कार्यक्रमलाई समेत कर्णाली सरकारले प्राथमिकता दिएको छ । रोजगारमूलक कार्यक्रम सञ्चालन गरी पाँच वर्षभित्रमा कर्णाली प्रदेशका जनताको प्रतिव्यक्ति आय २१ सय डलर पुर्याउने लक्ष्य सरकारको छ ।
कर्णाली प्रदेशमा गरिबी निवारणका लागि अन्तरमन्त्रालय साझेदारी कार्यक्रम गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, गरिबी निवारण कोष, युवा स्वरोजगार कोष स्थापना गरी विभिन्न संघ–संस्थासँग समन्वय गरी सहुलियत दरमा कर्जासमेत उपलब्ध गराउने नीति कर्णाली सरकारले लिएको छ ।
कृषि, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, पर्यटन, वन संरक्षण जस्ता जनताका आधारभूत आवश्यकतालाई ध्यानमा राखेर कर्णाली सरकारले नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ । फरक क्षमता भएका तथा अपांग, महिला, दलित, जनजाति, एकल महिला र जेष्ठ नागरिकलाई समेत समेटेर कर्णाली सरकारले कार्यक्रम सार्वजनिक गरेको छ ।
खाद्यान्नमा कर्णालीलाई आत्मनिर्भर बनाउने, सुरक्षाका हिसाबले सुरक्षित प्रदेश निर्माण गर्ने, सूचना र सञ्चारमा सबै जनताको पहुँच पुर्याउने र उज्यालो प्रदेश बनाउने नीति कर्णाली सरकारले लिएको छ । पर्यटन प्रवद्र्धनका लागि कम्तीमा ५० नयाँ पर्यटन गन्तव्य खोजी गर्ने, रारा कर्णाली पर्यटन वर्षलाई प्रचारप्रसार गर्ने र कर्णाली प्रदेशका सबै जिल्लामा हवाई सेवालाई निरन्तरता दिनेलगायतका कार्यक्रम सरकारले अघि सारेको छ ।
प्रकाशित समय : १४:०१ बजे



















