global ime bank Long Banner Ad

गृहपृष्ठ एक वर्षदेखि जंगलमै रहेका गार्इबस्तु पुल बनेपछि घर ल्याइयो

एक वर्षदेखि जंगलमै रहेका गार्इबस्तु पुल बनेपछि घर ल्याइयो

एक वर्षदेखि जंगलमै रहेका गार्इबस्तु पुल बनेपछि घर ल्याइयो

म्याग्दीको धौलागिरि गाउँपालिका-४, जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुंगे पुल बनेपछि एक दिनको बाटो एक घण्टामा छोटिएको छ । एक सय दुर्इ मिटर लामो झोलुंगे पुल निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सिम्कोष र बगर गाउँका बासिन्दाले जोखिम मोलेर तुइन र साँघुको भरमा हिँड्दै अाएको एक दिनको घुमाउरो बाटो एक घण्टामा छोटिएको हो ।

२०७४ साउनमा म्याग्दी नदीमा आएको बाढीले काठको झोलुंगे पुल बगाएपछि सिस्कोषका बासिन्दाले तुइनबाट खाद्यान्न, नुनतेल तारेर उपभोग गर्दै आएका थिए । सिम्कोषकी ज्योति थापाले पुल बनेपछि दैनिक जीवनयापन धेरै सहज भएको बताइन् ।

गत वर्ष सिम्कोषको जंगलमा चरनका लागि बगरका बासिन्दाले लगेका गाईबस्तु पुल बनेपछि मात्रै गाउँमा ल्याएका छन् । ४४ लाख ७६ हजार १८८ को लागतमा निर्माण भएको पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले जानकारी दिए । २०७४ फागुन ८ गतेदेखि निमार्ण सुरु भएको पुल २०७५ जेठ अन्तिम साता सम्पन्न भएको थियो । स्थानीयवासीले ५० दिनका दरले श्रमदान गरेका थिए ।

पुल निर्माणसँगै विकट सिम्कोष बगरका बासिन्दा र धौलागिरि चक्रीय पदमार्गको भ्रमणमा आउने पर्यटकलार्इ सहज भएको छ भने स्थानीयले बालिनाली र जडिबुटी उत्पादन बढाउन सक्ने भएका छन् । म्याग्दीमा यो वर्षमात्र ११ वटा झोलुंगे पुल निर्माण भएका छन् ।

सन्तोष गौतम (रासस)

प्रकाशित समय : १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु