कर्मचारीलाई लालबाबुको कडा चेतावनी– अटेर गर्नेलाई बिदा गरिन्छ
वि.सं.२०७५ असार १७ आइतवार ००:५२
shares

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई बिदाका लागि तयार भएर बस्न चेतावनी दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘प्रशासनिक पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिति र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तर्क्रियामा मन्त्री पण्डितले अटेरी कर्मचारीप्रति आक्रामक अभिव्यक्ति दिएका हुन् ।
साउनपछि दरबन्दी भएको स्थानबाट मात्रै कर्मचारीले तलब पाउने उनले प्रस्ट पारे । ‘अहिले केही कर्मचारी खटाएको ठाउँ नजाने र काठमाडौंमा हाजिर गरेर दिन बिताइरहेका छन्,’ मन्त्री पण्डितले भने, ‘साउन १ गतेदेखि खटाएको ठाउँमा नजाने कर्मचारीले बिदा गरिन्छ ।’ कर्मचारीले धेरै अटेर गरे नयाँ भर्ना खुलाउन सरकारले विलम्ब नगर्ने उनको भनाइ छ ।
गाउँसभाको अघिल्लो दिन प्रमुख प्रशासकीय अधिकृत काम छोडेर राजधानी आएको भन्दै मन्त्री पण्डितले ‘नेताको भनसुनमा राम्रो ठाउँमा जान्छु’ भन्ने कर्मचारीलाई मन्त्रालयको कम्पाउन्डमा छिर्न नदिने चेतावनी दिए । गलत नियतका साथ आउने कर्मचारी र उनीहरुलाई संरक्षण दिने राजनीतिक नेतृत्व कसैका कुरा नसुनिने उनको भनाइ छ ।
मन्त्री पण्डितले सुत्केरी, गर्भवती, मुटुको भर्खरै शल्यक्रिया गरेका र किमो लिइरहेका कर्मचारीलाई भने भनेको स्थानमा सरुवा गर्न सरकार तयार रहेको प्रस्ट पारे । तर, कतिपय कर्मचारी आफू घरमा नभए श्रीमती र छोराछोरीलाई निद्रा नै नआउने भन्नेजस्तो गैरजिम्मेवार बहाना बनाएर भनसुनका लागि आउने गरेको उनले खुलाए । ‘नियत ठीक नभएका कर्मचारीको दिनगन्ती सुरु भइसकेको छ,’ मन्त्री पण्डितले भने ।
कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र दाङका प्रशासनिक नेतृत्व तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता थियो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावललगायतले संघीयताको सवालका लागि प्रदेश र स्थानीय तह बलियो हुनुपर्नेमा जोड दिए ।
छलफलमा सहभागी स्थानीय तहका प्रमुख र उपप्रमुखले कर्मचारीको छिटोभन्दा छिटो व्यवस्थापन गर्न आग्रह गरेका थिए । समितिका संयोजक काशिराज दाहालले नेपालको संघीयता सहकार्य र समन्वयमा आधारित रहेको बताए ।
























