गृहपृष्ठ जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको संख्या १८ पुगेको छ । शुक्रबार जापानबाट प्राप्त समाचारमा भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र करिब २२ जना स्थानीय बेपत्ता भएको जनाइएको छ ।

गत साता होक्काइदो वरपर शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो । अधिकारीहरू उद्धार कार्यमा खटिरहेका समाचारमा जनाइएको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन । सरकारी निकायले सुनामीको भने डर नरहेको बताएको छ ।

होक्काइदोका अधिकांश भूभागमा विद्युत सेवा अवरूद्ध छ भने रेलसेवा चलेको छैन । आँधीले विच्छेद गराएको विद्युत् सेवा पुनः सुरु भएपछि भूकम्प गएको अधिकरीहरूले बताएका छन् ।

भूकम्पबाट दर्जनौं घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको छ । भूकम्प प्रभावित इलाकाका बासिन्दालाई राहत उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकप्टरबाट समेत उद्धार गरिएको छ ।

भूकम्पबाट कम्तीमा १६ लाख नागरिक प्रभावित भएका थिए । शुक्रबारसम्ममा यो संख्या आधा जति घटेको र ती नागरिकलाई विद्युत् र खानेपानी उपलब्ध गराइएको प्रहरी अधिकारीले जनाएका छन् ।

होक्काइदो द्वीपमा उद्वारका लागि करिब २० हजार उद्धारकर्ता परिचालित भएको सरकारका प्रवक्ता योसिहिदे सुगाले बताएका छन् । उद्धार कार्यमा हजारौं सैनिक पनि परिचालन गरिएको छ ।

जापानमा सन् २०११ को मार्च ११ मा आएको विनाशकारी ९ रेक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी निकै ठूलो जनधनको ठूलो क्षति भएको थियो । सो सुनामीबाट करिब १९ हजार नागरिकको ज्यान गएको थियो ।

प्रकाशित समय : २३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु