पदाधिकारीको आकारलाई लिएर कांग्रेस नेताहरुको ‘स्वार्थी अडान’
वि.सं.२०७५ मंसिर १८ मंगलवार २२:०२
shares

नेपाली कांग्रेसका शीर्ष नेताहरुले गुटगत स्वार्थअनुसार पार्टीको विधान संशोधन गर्ने प्रयास जारी राखेका छन् । विधानमा उल्लिखित प्रावधानका पक्ष र विपक्षमा चार दिनदेखि जारी छलफलमा शीर्ष नेताहरुले गुटगत स्वार्थका आधारमा अडान राखेका हुन् । पदाधिकारी बढाउने/नबढाउने, साधारण क्रियाशील सदस्यता, क्रियाशील सदस्यले नभएर प्रतिनिधिले क्षेत्र र जिल्लामा नेतृत्व चयन गर्नुपर्ने, प्रदेश समिति र जिल्ला समितिका प्रतिनिधिलगायतका मुख्य एजेन्डामा नेताहरुले भनाइ राखेका छन् ।
सभापति शेरबहादुर देउवा तत्काल पदाधिकारी नबढाउने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुटका नेताहरुले भने पदाधिकारी बढाउनुपर्ने अडान लिएका छन् ।
देउवा किन मान्दैनन् पदाधिकारी बढाउन ?
अहिले पदाधिकारीमा देउवाको राम्रो पकड छ । पदाधिकारी बढाउँदा पौडेल समूहका नेताहरुलाई समेट्नुपर्ने हुन्छ । यसो गर्दा आगामी महाधिवेशनमा जितेर फेरि कांग्रेसको सभापति बन्ने चाहाना पूरा नहुने त्रास देउवामा छ । तर, पदाधिकारी बढाउन देउवालाई उनी निकट नेताले पनि दबाब दिन थालेका स्रोत बताउँछ । ‘अधिकांश केन्द्रीय सदस्यले पनि पदाधिकारी बढाएर विवादको समाधान खोजौं भन्नेमा जोड दिएका छन्,’ देउवा निकट एक केन्द्रीय सदस्यले न्युज कारोबारसँग भने, ‘पदाधिकारी बढाउनुपर्छ भन्नेमा रामचन्द्र दाईहरुमात्रै होइन, हामी पनि सकारात्मक छौं ।’
पौडेल समूह पदाधिकारी बढाउन किन चाहान्छ ?
पौडेल समूह आगामी महाधिवेशनमा देउवालाई कमजोर साबित गर्न पदाधिकारी बढाएरै भए पनि आफ्ना नेता व्यवस्थापन गर्ने दाउमा छ । यस्तो योजनामा नेता कृष्णप्रसाद सिटौला पनि सहभागी छन् । आगामी महाधिवेशनमा देउवालाई रोक्न यी दुबै गुट सक्रिय छन् । ‘अहिले एउटैको काँधमा धेरै जिम्मेवारी छ, पदाधिकारी बढाउँदा अन्य नेताले पनि अवसर र जिम्मेवारी पाउँछन्,’ पौडेल निकट नेता नविन्द्रराज जोशीले भने, ‘यसो गर्दा लामो समयदेखि कांग्रेसमा जिम्मेवारी नपाएका साथीहरुले जिम्मेवारी पनि पाउँछन् ।’
महासमिति बैठक नै अन्योल
नेताहरुले गुटगत बार्गेनिङ नछाडेपछि विधानमा कुरा मिल्न सकेको छैन । कतिपय केन्द्रीय सदस्यले यो विवादले महासमिति बैठक नै अन्योलमा पर्न सक्ने चेतावनी दिएका छन् । ‘पदाधिकारी बढाउने वा नबढाउनेमा दुवै पक्षले विवाद गर्दा विषय मिल्दैनन्, कोही नेतालाई व्यवस्थापन गर्ने नाममा पदाधिकारी बढाउनु हुँदैन,’ केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने, ‘दुवै पक्षले सम्झौता गरेर अघि नबढे महासमिति बैठक नै अन्योलमा पर्न सक्छ ।’ तलबाटै सबै चुनिएर आउने व्यवस्थामा जानुपर्नेमा कोइरालाको जोड छ ।
पौडेल गुटका नेता बलबहादुर केसी भने पुराना कांग्रेसमा जाँगर भर्न पनि पदाधिकारी बढाउनुपर्ने बताउँछन् । तर, मनोनीत नगरी चुनावमार्फत ल्याउनुपर्ने उनको भनाइ छ । ‘सभापतिजी पार्टीको नभएर गुटको मात्रै नेता बन्नुभयो,’ केसीले भने, ‘पार्टीमा दुःख गरेकालाई अवसर नदिने, आफ्नालाई छानी–छानी मनोनीत गर्ने प्रवृत्तिले कांग्रेसलाई कुनै अर्थमा फाइदा गर्दैन ।’
पदाधिकारी बढाउने विषयमा भइरहेको विवाद शीर्ष नेताहरुको गुटगत स्वार्थमा केन्द्रित छ । खासगरी सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहबीचको टकरावले विधानमा कुरा मिल्न नसकेको हो । पदाधिकारी नबढाउँदा पौडेल समूहको स्वार्थ पूरा नभए पनि अवसर नपाएका कतिपय पुराना नेताहरु निराश हुने कांग्रेसका जानकारहरु बताउँछन् । तर, नेता व्यवस्थापनकै लागि पदाधिकारी बढाउँदा संगठन झन् बढी भद्रगोल र अस्तव्यस्त हुने आशंका पनि धेरैमा छ । ‘कांग्रेसलाई गुटले सतायो,’ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल भने, ‘दुबै पक्षले पार्टीलाई केन्द्रमा राखेर सोच्ने हो भने विवादको समाधान टाढा छैन ।’
























