जाडो छल्न मनाङवासी बेँसी झर्दै
वि.सं.२०७५ मंसिर १९ बुधवार १४:०५
shares

मङ्सिर महिनासँगै चिसो बढेको हिमाली जिल्ला मनाङका सर्वसाधारण जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन । जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन् । मङ्सिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् । स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन् । जाडो छल्न काठमाडाैं, पोखरालगायतका सहरमा जानेको संख्या बढी छ ।
माथिल्लो भेगमा हिउँ पर्न सुरु भइसकेको छ । अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ । चिसो बढेसँगै गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ । विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन् । ‘गाउँमा घरकुरुवा मात्र बस्छन्,’ चौँरीपालक किसान सुरेश थकालीले भने । हिमाली भेगबाट भेडाबाख्रा र चौँरी बेँसी सार्ने तथा चिसो कम हुने ठाउँमा राख्ने चलन छ । चौँरीगोठ मनाङको नासो गाउँपालिकाका लेकमा राखिने तथा भेडा च्याङ्ग्रा लमजुङको बाहुनडाँडा र घनपोखरा पु¥याउने थकाली बताउछन् । माथिल्ला भेगमा रहेका खर्कबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगमा सार्ने तयारीमा किसान जुटेका छन् ।
अबको तीन महीना माथिल्लो भेगमा हिउँ पर्छ । अति जाडो हुन्छ । घाँस पुरै हिउँले ढाकिन्छ । त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन् । यस क्षेत्रका किसानको माथिल्लो भेग र तल्लो भेगमा गरी दुई गोठ हुन्छन् । चिसो बढेसँगै माथिल्लो भेगबाट किसानले याक, चौँरी, च्याङ्ग्रा र भेडाबाख्रा तल्लो भेगका तालगाउँ, धारापानी, दानाक्यूलगायत ठाउँमा सार्ने गर्दछन् ।
मङ्सिर, पुस र माघमा हिमपात हुने भएकोले स्थानीयवासी चिसो मौसम सुरु हुनुअगावै दाउरा संकलनमा जुट्छन् । होटल व्यवसायीले कामदार लगाएरै दाउरा संकलन गर्छन् । यो समयमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गर्ने कर्मचारीले स्थानीयवासीबाट दाउरा खरिद गर्छन् । स्थानीयवासी तथा कर्मचारीलाई आफ्नो व्यक्तिगत उपयोगका लागि दाउरा संकलन गर्नका लागि कुनै समस्या छैन । कर्मचारी कार्यालयकै कामकाजमै व्यस्त हुने भएकाले दाउरा संकलन गर्न भ्याउँदैनन् । त्यसैले कर्मचारीले स्थानीयबाटै दाउरा खरिद गर्छन् । नियमअनुसार शुल्क तिरी दाउरा संकलन गर्नुपपर्ने चामेकी धनमाया विकले बताइन ।
‘शुल्क तिरी दाउरा जम्मा गर्छौैैँ । दाउरा बेच्दा प्रतिभारी १५० रुपैयाँ लिन्छौँ । एक चट्टा दाउरा घरसम्म पु¥याइदिएको दश रुपैयाँ लाग्छ’, उनले भनिन् । हरेक गाउँपालिकाले स्थानीयस्तरमै दाउरा संकलन समिति गठन गर्दै आएका छन् । ‘समितिको रोहवरमा मात्रै दाउरा संकलन गरिन्छ’, चामे गाउँपालिकास्तरीय दाउरा संकलन समितिका अध्यक्ष अनिता लामा बतउँछिन् । चिसो याममा स्थानीयवासीले आगो ताप्नका लागि दाउराको उपयोग गर्छन् ।(रासस)
























