काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

घरेलु टिम पोखरा पीपीएलको उपाधिनजिक

8.31K
shares

शरद भेषवाकरको कप्तानीमा मैदानमा उत्रिएको घरेलु टिम पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ । ६ टिम सहभागी प्रतियोगितामा चार टिमसँग समान ६ अंक भए पनि रनरेटका आधारमा पोखरा समूहकै शीर्ष स्थानमा रहँदै फाइनलमा यात्रा बनाएको हो ।

कात्तिक ९ देखि पोखरामा सुरु भएको प्रतियोगितामा पोखरासँगै चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, एक्स्पर्ट धनगढीले लिग चरणका पाँच खेलमध्येमा तीन÷तीन खेलमा जितसँगै समान ६ अंक प्राप्त गरे पनि रनरेटका आधारमा पोखरा समूह चरणकै शीर्ष स्थानमा रहन सफल भएको हो । प्रतियोगितामा लिग चरणका खेल सकिँदा धनगढी, बुटवल र विराटनगर प्रतियोगिताबाट बाहिरिएका छन् । बुटवलले पाँच खेलमध्ये दुई तथा विराटनगरले एकमात्र खेल जित्न सक्यो ।

शनिबार भएको लिग चरणको खेलमा पोखराले काठमाडौंमाथि चार विकेटको जित निकाल्यो । १ सय ४ रनको लक्ष्य पछ्याएको पोखराले १५.५ ओभरमा लक्ष्य पूरा गरेको हो । कुशल भुर्तेलले १४, आरिफ शेख १६ रन जोड्ुदा विनोद भण्डारी शुन्य रनमा आउट भएका थिए । बलिङतर्फ काठमाडौंका अमरसिंह रौटेलाले तीन विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौले १९.१ ओभरमा १ सय ३ रनको योगफल तयार पार्यो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१, अमित श्रेष्ठले २१, पवन सर्राफ १२, नरेश बुढाऐर ६, आदिल खान ७ रन जोडे । वसन्त रेग्मीले नटआउट १९ रन जोडे । बलिङतर्फ पोखराका ललित राजवंशीले ३ र मोहम्मद नाभिदले २ विकेट लिन सफल भए ।

प्रतियोगिताको फाइनल यात्राका लागि भने काठमाडौं र चितवनले आइतबार प्रतिस्प्रर्धा गर्नेछन् । अंक तालिकाको पुच्छारमा रहेको सन्दीप लामिछानेको टिम विराटनगरलाई लिग चरणको अन्तिम खेलमा पारस खड्काको टिम चितवनले शनिबार कठिन जित हासिल गरेसँगै दोस्रो चरणमा प्रवेश गरेको हो ।

लिगको अन्तिम खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई चार विकेटले पराजित गर्यो । विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य चितवनले ३ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको हो ।

चितवनको जितमा सनी पटेलले नटआउट ५१ रन जोड्दा आरिफ सेखले ३५, समित पटेलले २१, अनिल साहले १३ रन जोडे । १९औं ओभरमा चितवनका सनी पटेलले २ छक्का प्रहार गरे । सनी पटेलले ४ चौका र ४ छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन् । बलिङतर्फ सन्दीप लामिछानेले ४ तथा सुनिल धमला र साहब आलमले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल तयार पारेको थियो । विराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१, सुनिल धमालाले ४७ तथा प्रदीप ऐरी र पुष्प थापाले समान ११ रन जोडे । बलिङतर्फ चितवनका एसके पटेल र कप्तान पारस खड्काले समान २ विकेट लिए भने करन केसीले एक विकेट लिए ।

फाइनल प्रवेशका लागि शनिबार काठमाडौं र चितवनबीच बिहान ९ बजेपछि पोखरा रंगशालामा खेल हुनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित २७ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । प्रवेश निःशुल्क रहेको प्रतियोगिताको अवलोकन गर्न पोखरेली दर्शकको उत्साहजनक सहभागिता छ । फाइनल खेल कात्तिक २० गते हुनेछ ।