काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

कांग्रेसमा नयाँ गठबन्धनको संकेत

8.48K
shares

सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरुले एकै ठाउँमा उभिने संकेत गरेका छन् । एकपछि अर्को गर्दै विधानविपरितका गतिविधि सभापतिबाट भएको निष्कर्षमा पुगेका नेताहरु काठमाडौंको मण्डिखाटारस्थित नेतृ सुजाता कोइरालाको घरमा देखिएका छन् । ‘लञ्च मिटिङ’ नाम दिइएको उक्त भेलामा सुजातासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी र डा. शेखर कोइराला सहभागी थिए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने भेलामा उपस्थित थिएनन् । सिटौला जिल्लामा रहेका कारण सहभागी नभएको बुझिएको छ ।

अहिलेसम्म गुटमा नखुलेका शशांक पनि भेलामा देखिएका छन् । भेलाले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको निष्कर्ष निकालेको छ । छलफलमा सहभागी नेता केसीले पार्टीको आन्तरिक र मुलुकको समसामयिक विषयमा कुराकानी भएको बताए । ‘पार्टीलाई कसरी शसक्त बनाएर लैजाने, विपक्षीको भूमिका कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भयो,’ उनले भने ।

भेलामा संसदीय दलका उपनेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनीत गरेको विषयमा पनि छलफल भएको छ । ‘सार्नै नहुने महासमिति बैठक सारिएको छ, तत्काल नगरे पनि हुने निर्णय चाहिँ गरिएको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘सभापतिजीले पार्टीमा जे मन लाग्यो त्यही गर्ने र हामी मुकदर्शक भएर बस्ने कुरा आउँदैन, त्यसैले अब कसरी अगाडि बढ्ने भन्नेबारे अनौपचारिक रुपमा छलफल गरेका हौं ।’

ती नेताको भनाइलाई मान्दा कांग्रेसमा सभापति देउवाविरुद्ध बलियो गठबन्धन बन्नेवाला छ । ‘पार्टीलाई विधि र पद्धतिअनुसार चलाउनुपर्छ भन्ने कुरा हाम्रोमात्रै होइन, आम कार्यकर्ताको माग हो,’ ती नेताले भने । देउवाले आफू बलियो हुन पार्टीलाई कमजोर पारेको उनीहरुले निष्कर्ष निकालेका छन् । ‘पार्टी थला परेको छ, प्रतिपक्षको भूमिका पनि कमजोर छ,’ ती नेताले भने, ‘यही अवस्था रहीरहे पार्टी कसरी रहन्छ ?’

बलियो गठबन्धनको संकेत
अहिलेसम्म देउवाविरुद्ध नेता पौडेल र सिटौला समूहमात्रै खुलेको छ । महामन्त्री कोइरालाले कतिपय निर्णयको विरोध गरे पनि देउवालाई फाल्नुपर्छ भन्दै हिँडेका छैनन् । सिटौला कतिपय विषयमा पौडेलसँग दूरी राख्छन् । सिटौला र कोइरालाले पनि पौडेल गुट जोइन गरेमा वा सबै मिलेर एउटा गुट बनाएको अवस्थामा देउवाका लागि त्यो ठूलो चुनौती हुनेछ ।

‘पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो बनाउन, पार्टीलाई जीवन्त राख्न एउटा ठूलै गठबन्धन आवश्यक छ,’ पौडेल पक्षका नेता जगदीश्वरनरसिंह केसीले भने, ‘नेतृ सुजाताको घरमा भएको खालको मिटिङ आवश्यक थियो, यो अर्थपूर्ण पनि छ ।’

यसअघि संस्थापनईतर पक्षका रुपमा चिनिए पनि पौडेल समूह कमजोर थियो । ‘मलाई लाग्छ, विधानविपरितका गतिविधि हुन दिनुहुँदैन भन्ने सबै एकठाउँमा आउने र गठबन्धन बनाएर अघि बढ्नुपर्छ भन्नेमा नेताहरु सहमत हुनुहुन्छ,’ उनले भने ।

देउवा प्यानलबाट छुट्टिएका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए । उनको भनाइमा महामन्त्री कोइरालाले पनि समर्थन गरेका बुझिएको छ । ‘पार्टीलाई सधैं यसरी अलमल्याएर हुँदैन भन्नेमा महामन्त्रीजी र प्रभावशाली नेता शेखरजी पनि सहमत हुनुहुन्छ,’ भेलामा सहभागी एक नेताले भने, ‘अब सबै मिलेर एउटा मोर्चा नै बनाएर पार्टी सुधार अभियानमा होमिने निर्णय भएको छ ।’ उनका अनुसार सिटौलासहित एकचरण फेरि छलफल हुनेछ ।

आसन्न महाधिवेशनलाई प्रभाव पार्ला ?
महामन्त्री कोइरालासँगै पौडेल, सिंह र केसी पनि एकै ठाउँमा उभिने संकेत देखिँदा यसले सभापति देउवालाई झट्का लगेको टिकाटिप्पणी भइरहेको छ । तर, देउवा निकट केन्द्रीय सदस्य महेन्द्र यादवले भने असन्तुष्ट नेताहरुको बैठकलाई ‘स्वार्थ समूहको भेला’को संज्ञा दिएका छन् । ‘कुनै गठबन्धन बन्छजस्तो मलाई लाग्दैन,’ उनले भने, ‘बनिहाले पनि आ–आफ्नो स्वार्थ पूरा हुनेबित्तिकै त्यो टुट्छ ।’

सभापति देउवालाई कमजोर बनाउन खोज्दा पार्टीलाई नै हानी हुने उनले बताए । ‘सभापतिलाई कमजोर बनाउने उहाँहरुको उद्देश्य छ, उहाँहरुले यो किन भुल्नुहुँदैछ ? सभापति कमजोर भएपछि पार्टी कमजोर हुन्छ, कार्यकर्ता निराश हुन्छन् ।’

गठबन्धन बने पनि आगामी महासमिति बैठक भने प्रभावित नहुने उनले बताए । बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक प्रस्ताव, आर्थिक नीति प्रस्तावलगायत पेश हुनेछ । ‘महासमिति बैठकमा सबै प्रस्ताव सर्वसम्मतिबाटै हुन्छ,’ उनले भने, ‘विधान संशोधन प्रस्ताव पनि सहमतिका आधारमै पेश हुन्छ, त्यसैले महासमिति बैठक प्रभावित हुँदैन ।’