गृहपृष्ठ नेपाली कलाको इतिहास र पश्चिमा ‘फ्युजन’
नेपाली कलाको इतिहास र पश्चिमा ‘फ्युजन’

नेपाल कला, संस्कृति र सभ्यताले समृद्ध र सुसज्जित राष्ट्र हो । विदेशी आँखाले नेपाललाई मन्दिर नै मन्दिर र कला नै कलाले भरिपूर्ण देश भनेर चिन्छन् । यस अर्थमा हामी कला, त्यसमा पनि परम्परागत कलामा धेरै नै धनी राष्ट्रका निवासी हौं । नेपाली परम्परागत शैलीका हाम्रा मौलिक कला अपरम्पार छन् । जस्तो कि थाङ्का, मण्डला र पुरातन शैलीका कलाकृति हाम्रो धर्म, संस्कृति र आस्थासँग जोडिएर आएका कला हुन् ।
आज अन्तर्राष्ट्रिय कला क्षेत्रमा हाम्रा कलाको अलग्गै, मौलिक र विशिष्ट पहिचान छ । त्यहाँ हाम्रा कलाको मूल्य र मान्यताले उचाइ लिएको छ र दिनप्रतिदिनको बढ्दो नेपाली कलाको मागलाई सक्दो धानिरहेको पनि छ । एकातर्फ हाम्रो परम्परागत कलाको यस्तो महिमा छ भने अर्कोतर्फ आधुनिक र उत्तर आधुनिक कलाको अभ्यास पनि हामीमा बढ्दो रहेको देखिन्छ । अचेल पुरातनमात्र होइन, आधुनिक कलाका विधामा पनि काम गर्ने थुप्रै कलाकारको जन्म भइसकेको, भइरहेको छ । आजका कलाकारले पाश्चात्य र युरोपेली मुलुकमा विकास भएका कलाका नवधारहरुलाई स्वदेशी भूमिमा प्रयोग गरिरहेका छन् र नेपाली आधुनिक कलाको नाम दिइरहेका छन् ।
यस आलेखमा मैले विशेषतः परम्परागत कला शैलीभन्दा पनि आधुनिक कला शैलीको सन्दर्भलाई उठान गर्न खोजेको छु । वास्तवमा भन्ने हो भने नेपालमा अचेल देखापर्ने आधुनिक कलाको विकास अकस्मात् भएको होइन । यो कलाले वर्तमान धरातलसम्म पाइला टेक्न लामो समयचक्र पार गर्नुपरेको इतिहास छ । थुप्रै कलाकार जन्माउनुपरेको परिघटना साक्षी छ । नेपालमा आधुनिक कलाको छाप राणाकालीन समयदेखि नै देखापरेको हो, जुन काललाई कलाको सन्दर्भमा आधुनिक कला विकासको प्रस्थान वा उठान बिन्दु भनिन्छ ।
कलाको इतिहास पल्टाएर हेर्दा नेपाली परम्परागत लोकशैली र प्रविधिमा नेपाली समाज रमाइरहेका बेला पहिलोपटक जंगबहादुरसँग नेपालका भाजुमान चित्रकार बेलायत जाने मौका पाएको र त्यहाँको प्रचलित कलाशैली, प्रविधि तथा प्रवृत्ति नेपाल भित्र्याएको घटना देखिन्छ । यस इतिहासलाई आधिकारिक मान्दा नेपाली कलाक्षेत्र विदेशी रंगमा मुछिने क्रम यहीँबाट सुरु भएको हो भन्न पनि सकिन्छ । अर्को अर्थमा नेपाली कला भूगोलमा युरोपेली शैलीले हक जताउने क्रम यहीँबाट सुरु भएको हो । त्यसो त भाजुमानभन्दा ३० वर्षअघि देखि नै राजमान भन्ने कलाकारले विदेशी शैलीअनुरूप काम गरिसकेका थिए भन्ने पनि भनाइ छ । यस्तो ऐतिहासिक तथ्यको खुलासा केही वर्षअघि मात्र सार्वजनिक भएको हरिहर जोशी र इन्दु जोशीको अनुसन्धानमूलक पुस्तिका ‘द पायोनर आर्टिस्ट राजमान’ मा उल्लेख छ । यो खोजपुस्तिकाले लेखेजस्तै राजमानको समयलाई आधुनिकताको आरम्भकाल मान्ने हो भने नेपाली कलामा आधुनिकताको जग बसाल्ने काम भाजुमानकाल अघिदेखि नै बनिसकेको हो भन्नुपर्छ ।
राणाकालीन युगमा बखतमान, पूर्णमान, दीर्घमान आदि कलाकारको वर्चस्व थियो । यिनीहरू त्यस समयका खारिएका र स्वअध्ययनबाटै पोख्त बनेका थिए । यिनीहरूको कलामा घरेलु कलाप्रविधिको प्रयोग प्रचुर हुने गथ्र्यो । उतिबेला बनेका राजा–महाराजा र राणाहरुका चित्र अझै पनि कतिपय संग्रहालयमा सुरक्षित देख्न सकिन्छ । यिनीहरू पछिको समयले औपचारिक कला शिक्षाबाट विद्वत भई आउने कलाकार युगलाई जन्म गराएको थियो । त्यसताका कलाकार चन्द्रमान मास्के, तेजबहादुर चित्रकार, कालीदास श्रेष्ठहरु, सिद्धिमुनि शाक्य आदि नामुद कलाकार नेपाली कलामा छाएका थिए ।
विधिवत् कला शिक्षा हासिल गरेर नेपालीकलामा देखिनु नै यिनीहरूको महत्वपूर्ण र युगान्तकारी विशेषण थियो । भारतमा औपचारिक कला शिक्षा हासिल गरेर फर्केका तिनीहरुले नेपालमा भारतीय कलाको प्रभाव र प्रयोगलाई सर्लक्कै नेपाली कलामा डो-याएर ल्याएका थिए । त्यसताका भारतीय भूमि आधुनिक कलाको सन्दर्भमा उँचो उठिसकेको पाइन्छ । त्यहाँका कलाकार र जनमानसले आधुनिक कलालाई पूर्णरूपमा आत्मसात् गर्दै विश्वासको जग मजबुद बनाइसकेको अवस्थामा, भारतबाटै प्रशिक्षित भएर आएका नेपालका कलाकार भने राजा, राणा र सम्भ्रान्तहरुकै चित्र कोर्नमा धेरै कालसम्म व्यस्त बनिरहे । जसले गर्दा सम्भावना हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय जगत र छिमेकी मुलुक भारतमा मौलाएको आधुनिक कला ट्रेन्डबाट नेपाली कला पृष्ठभूमि बेलैदेखि सिंगारन पाएन । यसकारणले पनि आज विदेशी मुलुकको तुलनामा आधुनिक कलाक्षेत्रको विकासमा हामी पछि परेका हौं ।
राणाकालमा कलाकारले चित्र बनाई श्री ३ लाई खुसी पारे बकस मिल्थ्यो । र, विदेश जाने र पढ्न जाने मौका मिल्थ्यो । यो लालसाले पनि त्यसताका विदेशमा चल्दै गरेको नौलो कला मान्यता अर्थात् आधुनिक कलाप्रतिको कलाकार चासोले वस्तुगत रूप लिन नसकेको हो । राणाकालीन समयको नेपाली कला भाजुमान र राजमानको कलाज्ञानसम्ममा नै सीमित भइरह्यो । यसले अन्तर्राष्ट्रिय ट्रेन्डले विकास गरेको आधुनिक कलालाई आत्मसात् गर्ने चासो नै देखाएन । फलस्वरूप, हामी पछि पर्दै जाने क्रम त्यहीँदेखि सुरु भयो ।
कलाको सौन्दर्य र भावलाई आत्मसात् गर्दै भारत र पाश्चात्य मूलबाट कला अध्ययन गरेर आएका नेपाली कलाकारले कलाका गतिविधि प्रशस्तै सञ्चालन गर्दै गए । र, मानवीय कुण्ठा, विसंगति, विद्रोह र प्रयोगका विम्बहरु नेपाली आधुनिक कलाको विशेषता बनाए ।
राणाकालको समाप्तिपश्चात् २००७ सालपछि मात्र नेपालमा आधुनिक कला भन्ने नामले अवतरण हुने मौका पाएको हो । अवतरणपश्चात युरोपेली र पाश्चात्य कलामा धेरै अगाडिदेखि नै स्थापित भइसकेका अभिव्यञ्जनावाद, प्रभाववाद, भाववाद, अमूर्तवाद, घनवाद तथा अन्य प्रयोगवादी अवधारणाहरुका काम नेपालमा देखा परे । यसअन्तर्गत मानवीय पीडा, द्वन्द्व, हिंसा र प्रयोगको फरक मत र भाव नेपाली कलामा झल्कन सुरु भयो । यसै समयमा उदाएका थिए– परिवर्तनकामी नयाँ अनुहार कलाकार गेहेन्द्रमान अमात्य, लैनसिंह बाङ्देल, उत्तम नेपाली, लक्ष्मण श्रेष्ठ, विजय थापा, ठाकुरप्रसाद मैनाली, उर्मिला गर्ग आदि । यिनीहरुको आगमनपश्चात् नै नेपाली कलासमाजमा अमूर्त र आधुनिक प्रयोगवादी शैलीको मन्थन र प्रयोग सुरु हुन थालेको हो ।
नेपालमा २०१६ सालदेखि अमूर्तकलाको लक्षण देखिएको भए पनि फ्रान्सको बसाइ र अध्ययनबाट लैनसिंहले २०१८ सालमा यो मान्यताको कलालाई नेपाल भित्र्याएदेखि अन्तर्राष्ट्रिय मान्यताअनुरुपको अमूर्तशैलीले नेपाली कलामा पदार्पण हुने मौका पाएको हो । यसकाललाई नेपाली कला संसारमा अत्याधुनिकताको शुभारम्भको काल भनिन्छ । साथै, यो कालका कलाले नेपाली समाजको कला बुझाइको क्रमिकतालाई भंग गराएको थियो । जसले गर्दा जनमानस बीचबाट कला बुझिँदैन भन्ने अभिव्यक्ति आउन थालेको थियो । यो प्रतिक्रिया आउनु स्वाभाविक पनि थियो, किनकि सुरुकालदेखि वस्तुवादी र यथार्थवादी कला हेर्ने बानी परेका नेपाली जनमानसमा एक्कासि अमूर्त शैली पस्कनु ठीक पनि थिएन । आधुनिक शैली वा अमूर्त शैलीलाई अघिल्लो वादको धारा क्रमशः जोड्दै आउनुपर्थ्यो । तर, हामीले त्यसो नगरी विदेशमा प्रचलित वादको अन्धानुकरण गर्यौं । र, यहीँनेर चुक्यौं ।
यद्यपि, पछिल्ला समयहरुले क्रमशः यसलाई स्वीकार्दै गएको पनि देखियो । कलाको सौन्दर्य र भावलाई आत्मसात् गर्दै भारत र पाश्चात्य मूलबाट कला अध्ययन गरेर आएका नेपाली कलाकारले कलाका गतिविधि प्रशस्तै सञ्चालन गर्दै गए । र, मानवीय कुण्ठा, विसंगति, विद्रोह र प्रयोगका विम्बहरु नेपाली आधुनिक कलाको विशेषता बनाए । रामानन्द जोशी पानी रङको प्रभाव लिएर र डालीको प्रभावमा कलाकार शशी शाह घोडा लिएर मुम्बईबाट आए । ‘झ्वाम्म’ प्रकृति बर्साउन थाले मुम्बई पढेका कृष्ण मानन्धरले । प्रतीक र दैवीय आहट सर्लक्क क्यानभासमा उतार्न थाले त्यहीँका उत्पादन वत्सगोपाल वैद्य र इन्द्र प्रधानले । पाकिस्तान, बनारसलगायत अन्य स्थानबाट अध्ययन सकेर आएका मनुजबाबु मिश्र, सुरेन्द्र भट्टराई, मदन चित्रकार, किरण मानन्धर, शशीकला तिवारी, राधेश्याम मुल्मी, रागिनी उपाध्यायलगायत धेरै कलाकारको प्रयत्नले नेपाली आधुनिक कलाको माहोल बन्यो, नेपालमा ।
अचेल नेपालमा युवा आधुनिक कलाकार धेरै बनिसकेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय कला विश्वविद्यालयका कारण धेरै कलाकारको जन्म भइरहेको छ । र, उनीहरू कलाको नौलो प्रयोगमा निरन्तर लागिरहेका छन् । नेपाली जनमानसमा पनि यसप्रति धेरै जागरुकता छाइसकेको छ । अचेल आधुनिक वा समसामयिक कला सबैको प्यारो बनिसकेको छ ।
(निराैला वरिष्ठ चित्रकार एवं कला समीक्षक हुन् ।)
tirthaniraula@gmail.com
प्रकाशित समय : १९:०७ बजे